हेडलाईनविचारप्रदेश

राष्ट्रप्रेम, चेतना र उत्तरदायी नेतृत्वको आवश्यकता

विश्व ब्रह्माण्डको ऊर्जा हाम्रो हृदयमा पनि प्रवाहित छ। हामीसँग अपार प्रेम गर्न सक्ने हृदय छ, जसले मातृभूमिप्रतिको गौरवभावलाई अँगाल्छ। आजको विषम परिस्थितिमा मातृभूमिको रक्षा गर्नु हाम्रो प्रमुख कर्तव्य हो। जुनसुकै सत्ता आए पनि यदि त्यसले मातृभूमिप्रतिको प्रेमलाई सम्मान गर्न सक्दैन भने, त्यस्तो सत्ता हामीलाई स्वीकार्य हुने छैन।

नेपाल ऊर्जा भूमि हो—यस सत्यलाई बुझ्ने, वैदिक सनातन संस्कृतिको महत्वलाई आत्मसात् गर्न सक्ने, योग, ज्ञान, कर्म, कर्तव्य, ध्यान र चेतनाको स्वतन्त्र अभ्यासलाई सघाउन सक्ने सत्ता हामी खोजिरहेका छौँ। जुन सत्ताको छायाँमा धर्म, कर्म र संस्कृति फुल्न सकून्, त्यस्तो सत्तासँग हामी निकट रहन चाहन्छौँ।

हामी अब संघर्षको मैदान चाहँदैनौँ। हामी कुनै पनि पक्षको रगतको खोला फेरि बगेको हेर्न चाहँदैनौँ। नेपाली जनताका रूपमा हामी सदाचार, आपसी प्रेम र सद्भावका माध्यमबाट मातृभूमिको सेवा गर्न इच्छुक छौँ। अपार जलस्रोत र स्थानीय सामग्रीको प्रयोग गरी देशको समृद्धि चाहन्छौँ। हामी एकअर्कालाई आत्मवत् व्यवहार गर्न, परस्पर सुरक्षाको अनुभूति गर्न चाहन्छौँ।

देश बनेन भनेर रोइरहेका आत्माहरूलाई हामी नजिकैबाट बुझ्न चाहन्छौँ। कृपया विविध क्रान्तिको नाममा थोरै संख्याका नेपालीहरूलाई पनि त्रासको वातावरणमा ल्याउने कार्य नगरियोस्। नेपाल आफैँमा सुन्दर, शान्त र विशाल देश हो। सभ्यता र संस्कृतिको दृष्टिले यो समृद्ध छ।

हामी अखण्ड नेपाल चाहन्छौँ। यो भूमि ऊर्जा र चेतनाको भूमि हो—कृपया हृदयमा त्यसको अनुभव गर्नुहोस्। आफ्नो छातीमा ढुकढुक गरिरहेकै मुटुले “देशलाई अखण्ड बनाऊ” भनेर बोलिरहेकै अनुभूति गर्नुहोस्।

हामीले क्रान्ति देख्यौँ, रक्तपात भोग्यौँ, परिवर्तनका विविध आयामहरू अनुभव गर्यौँ। अब भने हामी “म नेपाली हुँ, मेरो नेपाल प्यारो छ” भन्ने भावना सँगाल्न चाहन्छौँ। यदि नेतृत्व तहमा रहेका व्यक्तिहरूले यस्तो राष्ट्रिय भावना जगाउन सकेनन् भने, जनता साँच्चिकै दुःखी हुन्छन्। तब तपाईंहरूको अस्तित्व जनताले होइन, तपाईंका आफ्नै कर्मले ध्वस्त पार्नेछ।

कृपया जनताको भावना र राष्ट्रिय स्वार्थसँग मेल नखाने एजेन्डा ल्याएर नेतृत्वको नाममा जनतालाई पीडित नबनाउनुहोस्। जनताले आफ्नो पेटलाई सारङ्गी बनाइ भोकको यात्रामा अलिकति गाँस, बास र कपास खोजिरहेका छन्।

अतः, अब हामीलाई चाहिएको छ—जिम्मेवार, इमानदार र विवेकी नेतृत्व। वैदिक सभ्यता बुझ्ने, ऋषिसरह धैर्यवान्, बिहान योगासनले शरीर फुर्तिलो बनाउने, साँझ ध्यान साधनाबाट देशको भविष्यको योजना बनाउने यौगिक व्यक्तित्व हामीलाई चाहिएको छ।

डिग्रीभन्दा बढी अब अनुभव, बफादारी र जनकल्याणमा समर्पित नेतृत्व आवश्यक छ। जीवनको विश्वविद्यालयमा खारिएको, जनताको पीडा अनुभूत गर्न सक्ने नेतृत्व आजको नेपालले खोजेको छ। यस कुरालाई कृपया मनन गरौं।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button