प्रहार समाचार । धनकुटा , १० जेठ २०८२ शनिवार । धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका–५ ओख्रेबाट अवैध लागूऔषध गाँजा ८ सय ९० किलोग्रामसहित एक किशोर पक्राउ परेका छन्।

प्रहरीले गए राति सोही गाउँपालिका–२ बुढीमोरङका १८ वर्षीय किशोरलाई पक्राउ गरेको हो। उनीसँगै चार थान मोबाइल पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।
प्रहरीका अनुसार मोरङको केराबारीतर्फ गइरहेको प्रदेश १–०२–००२ च ५२३८ नम्बरको पिकअप गाडीलाई ओख्रे प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको टोलीले बुढीमोरङमा रोकेर जाँच गर्दा गाडीमा लुकाइछिपाइ राखिएको अवस्थामा २९ वटा बोरामा रहेको गाँजा फेला परेको थियो। उक्त गाडीमा सवार किशोर तत्काल पक्राउ परे पनि चालक भने फरार छन्।
प्रहरीले हाल फरार गाडी चालकको खोजी तीव्र पारेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। गाँजा कसले र कहाँबाट किन ल्याएको हो भन्ने विषयमा समेत प्रहरीले अनुसन्धान अघि बढाएको छ।


























