प्रहार समाचार । तनहुँ, १० जेठ २०८२ शनिवार । म्याग्दे गाउँपालिका र व्यास नगरपालिका भित्रका विभिन्न पेशा व्यवसाय गरी बसोबास गर्ने व्यक्तिहरूको सहभागितामा स्थापना भएको म्याग्दे–दमौली समाज तनहुँले सामाजिक सहकार्य, भाईचाराको अभिवृद्धि र संकटमा परेका नागरिकलाई राहत दिनु उद्देश्यसहित आफ्नो गतिविधि विस्तार गर्दै आएको छ।

२०७७ साल साउनमा स्थापना भएको समाजले मृगौला पीडित स्व. रामलाल श्रेष्ठ, घाँटी क्यान्सर पीडित स्व. बिनोद वाग्ले, पेट ट्युमर पीडित बिरेन्द्र पौडेल, तथा आन्द्रामा समस्या परेकी सलिना गुरुङ लगायतलाई देश–विदेशमा रहेका व्यक्तिहरूको सहयोगमा लाखौं रुपैयाँ संकलन गरी उपचारमा सहयोग गर्दै आएको समाजका अध्यक्ष समाजसेवी भाग्यशाली ढुङ्गानाले बताए । संस्थालाई दीर्घकालीन बनाउन ‘दिगो राहत कोष’ स्थापना गरिएको जानकारी दिंदै समाजेवी ढुङ्गानाले जसमा जन्मदिन, पास्नी, विवाह उत्सवका अवसरमा सहयोग संकलन गर्ने गरेको छ ।

नेपाल बैंक लिमिटेड दमौली शाखामा सञ्चालनमा रहेको राहत कोषमा हालै समाजका कोषाध्यक्ष राधा वाग्लेको छोरीको विवाह उत्सवमा ५ हजार, अध्यक्ष भाग्यशाली ढुंगानाको ५८औं जन्मदिनमा २ हजार ५ सय ५८ हस्तान्तरण गरिएको समाजले जनाएको छ। समाजले आगामी दिनमा सरसफाइ, स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन तथा ऐतिहासिक–धार्मिक क्षेत्रको प्रवर्द्धनमा समेत टेवा पुर्याउने प्रतिबद्धता जनाएको छ।

























