प्रहार समाचार । बुटवल, ६ जेठ २०८२ मङ्गलवार । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरी मंगलबार पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार फरार सूचीमा रहेका चौधरी आफैँ प्रहरीसमक्ष उपस्थित भएपछि पक्राउ गरिएको हो। उनलाई इलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा राखिएको छ। आजै उनलाई अदालतमा उपस्थित गराई म्याद थप गरिने प्रहरीले जनाएको छ।
चौधरीमाथि जबर्जस्ती करणीको शिकार भएकी युवतीको गोपनीयता भङ्ग गरेको आरोप लागेको छ। जिल्ला अदालत रुपन्देहीले विद्युतीय अपराधसम्बन्धी कसुरमा जेठ १ गते पक्राउ पूर्जी जारी गरेको थियो।
चौधरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट निर्वाचित जनप्रतिनिधि हुन्। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
























