प्रहार समाचार । काठमाडौँ, ६ जेठ २०८२ मङ्गलवार । नेपाल राष्ट्र बैंकको १८औं गभर्नरका रूपमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त भएका छन्। आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नर नियुक्त गर्ने निर्णय गरेको हो। लामो समयदेखि रिक्त रहेको गभर्नर पदमा पौडेलको नियुक्तिसँगै बैंकको नेतृत्वमा देखिएको अन्योल अन्त्य भएको छ।

गभर्नर नियुक्तिका लागि उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा गठित सिफारिस समितिले मंगलबार नै तीनजनाको नाम मन्त्रिपरिषद्मा पेश गरेको थियो। तीमध्ये प्रा.डा. विश्वनाथ पौडेल, कामु गभर्नर निलम ढुंगाना र पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिसमा परेका थिए। सिफारिसमा पहिलो नम्बरमा रहेका पौडेललाई मन्त्रिपरिषद्ले नियुक्त गर्ने निर्णय गरेको हो।
यस नियुक्तिसँगै राष्ट्र बैंकमा लामो समयदेखि कायम अस्थिरता अन्त्य भएको छ भने गभर्नर नियुक्तिलाई लिएर देखिएको सत्ता संकटसमेत टरेको छ। राष्ट्र बैंकजस्तो संवेदनशील संस्थाको नेतृत्वमा स्थायित्व आउनु सकारात्मक पक्षको रूपमा हेरिएको छ।
























