• विजय अधिकारी ( प्रहार संवाददाता ) लमजुङ, ६ जेठ २०८२ मङ्गलवार । लमजुङ जिल्लामा वडास्तरमै पुगेर नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गर्न सुरु गरिएको छ। जिल्लाको बेसीशहर, सुन्दरबजार र राइनास नगरपालिका अन्तर्गतका वडाहरूमा पुगेर परिचयपत्र वितरण सुरु गरिएको हो।

मंगलबार जिल्ला प्रशासन कार्यालय लमजुङमा आयोजित स्थानीय जनप्रतिनिधि, कर्मचारी र सरोकारवालासँगको अन्तर्क्रियापछि यस्तो निर्णय लिइएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले जानकारी दिए। उनका अनुसार आठवटै पालिकामध्ये बाँकी पालिकामा पनि क्रमशः वितरण गरिने छ।
राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाका निर्देशक तुलसीप्रसाद दाहालका अनुसार हालसम्म लमजुङमा ३८ हजार जनाको कार्ड छपाइ भइसकेको छ। तीमध्ये १२ हजार २ सय ६१ जनालाई वितरण भइसकेको जानकारी उनले दिए। “पहिले वडा तहमै विवरण संकलन गरेर छापिएका कार्डलाई पुनः वडामै पुगेर वितरण गर्ने व्यवस्था गरिएको हो,” उनले प्रहारसँग भने।
दाहालका अनुसार कार्ड लिन आउने नागरिकले नागरिकता प्रमाणपत्र र विवरण सङ्कलनका बेला प्राप्त गरेको सक्कली रसिद अनिवार्य रूपमा ल्याउनु पर्नेछ। जैविक विवरण पुनः चेकजाँच गरी मात्र कार्ड हस्तान्तरण गरिने जनाइएको छ।
प्राविधिकसहितको टोली वडामा कम्तीमा सात दिन र आवश्यकतानुसार १५ दिनसम्म बस्ने गरी परिचालन गरिनेछ। वितरण कार्यलाई प्रभावकारी बनाउन स्थानीय तहसँग सहकार्य गरिएको छ।
जिल्ला समन्वय समितिका पूर्णबहादुर गुरुङले यस अभियानलाई विशेष प्राथमिकतामा राखेर कोही पनि नागरिक छुट्न नपरोस् भन्ने उद्देश्यले व्यापक प्रचारप्रसार गर्न स्थानीय तहलाई आग्रह गरेका छन्।
प्रमुख जिल्ला अधिकारी पोखरेलले जिल्ला प्रशासन कार्यालयबाटै विवरण सङ्कलन गरिएका कार्डहरू कार्यालयबाटै वितरण गरिने बताए।
— प्रहार समाचार
























