प्रहार समाचार । काठमाडौँ, ६ जेठ २०८२ मङ्गलवार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन टनेल गेटबाट भन्सार छली गर्दै ल्याइएका सुनजस्तो देखिने धातु सहित एक व्यक्ति पक्राउ परेका छन्।

प्रहरीका अनुसार सोमबार बिहान कास्की, पोखरा महानगरपालिका–११ राधाकृष्णटोल निवासी ४८ वर्षीय दीपक केसीलाई विमानस्थल सुरक्षा जाँचको क्रममा पक्राउ गरिएको हो। उनी हिमालय एयरलाइन्समार्फत दुबईबाट काठमाडौं आएका थिए।
जाँचका क्रममा केसीले लुकाइछिपाई ल्याएको २५ ग्राम तौल भएको सुनजस्तो देखिने धातुको सिक्री फेला परेको प्रहरीले जनाएको छ। त्यसैगरी, उनको साथबाट ल्यापटप १ थान र मोबाइल ५ थान समेत बरामद गरिएको छ।
पक्राउ परेका केसीलाई थप अनुसन्धान तथा कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर पठाइएको प्रहरीले जानकारी दिएको छ।
























