हेडलाईनसमाचारप्रदेश

२५ वर्षपछि काठमाडौंको नक्साल हिटीमा पुनः जीवन : सम्पदा संरक्षणको ऐतिहासिक सफलता

प्रहार समाचार । काठमाडौं,२ जेठ २०८२ शुक्रवार । काठमाडौं महानगरले  प्राचीन मुहानहरू संरक्षणको अभियानमा उल्लेखनीय सफलता पाएको छ। करिब २५ वर्षदेखि सुकेको काठमाडौंको ऐतिहासिक नक्साल हिटीमा पुनः पानी बग्न थालेको छ। काठमाडौं महानगरपालिका, सम्पदा तथा पर्यटन विभाग र स्थानीय बासिन्दाको सहकार्यमा सम्भव भएको यो कार्य राजधानीको सम्पदा संरक्षण अभियानको एउटा प्रेरणादायी उदाहरण बनेको छ।

२०७९ सालको भदौमा काठमाडौं महानगरले ३२ वटै वडामा गरेको सम्पदा अनुगमनका क्रममा नक्साल हिटीको अवस्थाबारे जानकारी प्राप्त भएको थियो। अनुगमनका क्रममा स्थानीयले सन् २०५५ सालदेखि हिटीमा पानी ननिस्किएको जानकारी दिए। पुरातत्व विभागको २०४२ सालको अभिलेखले पनि बेलाबेला हिटी बन्द हुने समस्याको पुष्टि गरेको छ।

समस्या समाधानका लागि सम्पदा तथा पर्यटन विभागलाई आग्रह गरिएपछि विभागले तत्काल अनुगमन प्रारम्भ गर्‍यो। अनुगमनका क्रममा हिटीको निकास मार्ग माटोले पुरिएको र पुरानो मंगाल अवरुद्ध अवस्थामा भेटिएको थियो। सो मंगाल सफा गर्दा पनि पानी ननिस्केपछि तीनवटा निजी घरहरूबाट निकास मार्ग अवरुद्ध भएको पत्ता लाग्यो।


वडा नं. १ को समन्वयमा ती घरधनीहरूसँग छलफल गरी जनही दुई–दुई लाख जरिवाना गराइयो। संकलित रकमबाट नयाँ मंगाल निर्माण गरिएको हो। हिटीको निकास नारायणहिटी संग्रहालयअन्तर्गतको टुकुचा खोलासम्म पुग्ने संरचनासँग जोडिएको हुँदा सो मार्गमा रहेका रुखका जरालगायत अवरोधहरू हटाइयो।
करीब ८ महिनासम्मको कठिन परिश्रमपछि हिटीमा पुनः दुईवटा स्रोतबाट पानी बग्न थालेको छ। यस क्रममा हिटी सम्बन्धी विशेषज्ञहरूको समेत स्थलगत अवलोकन र मार्गदर्शन प्राप्त भएको थियो।

हाल नक्साल हिटीमा निरन्तर पानी प्रवाह भइरहेको छ र सम्पदा विभागमार्फत पुनर्निर्माण कार्य पनि सम्पन्न भइसकेको छ। परम्परागत प्रणालीको पुनः सञ्चालनसँगै यो ऐतिहासिक हिटीले फेरि आफ्नो मौलिकता प्राप्त गरेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button