विजय अधिकारी (प्रहार संवाददाता ) गोरखा २८ बैशाख २०८२ आइतवार । पढ्न इच्छा भए उमेरले छेक्दैन भन्ने उदाहरण गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ६ निवासी ६८ वर्षका लालबहादुर बि.क. ले दिएका छन्।

बि. क.यतिबेला कक्षा १२ को परीक्षा दिँदैछन् ।
२०१४ सालमा गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ६ कालामाटामा जन्मिएका ६८ वर्षीय लालबहादुर वि.क.अमरज्योति जनता मा.वि.लुइँटेल परीक्षा केन्द्रमा शिरमा ढाका टोपी,निलो सुट र घाँटीमा भवानी मा.वि.को टाइ लगाएर पुग्दा सुरुमा कतिपय झुक्किन्छन शिक्षक हुन् कि परीक्षार्थी भनेर । तर उनी हाल सञ्चालन भइरहेको कक्षा १२ को परीक्षार्थी हुन्।
पालुङटार नगरपालिका स्थित भवानी मा.वि.बाट शिक्षा संकायमा अध्ययनरत वि.क.हाल अमरज्योति जनता मा.वि.परीक्षा केन्द्रबाट परीक्षा दिइरहेका छन् । बि.क. यतिबेला कक्षा १२ को परीक्षामा सहभागी भइरहँदा धेरैको ध्यानाकर्षण हुनुका साथै धेरैको प्रेरणाको स्रोत बनेका छन् । उनको पढाइप्रतिको लगाव र प्रेरणाले आफूहरुलाई पनि पढाइप्रति उत्साह जागेको उनसँगै परीक्षामा सहभागी भएका विद्यार्थीहरु बताउँछन् ।
कक्षा ११ को वार्षिक परीक्षामा उत्कृष्ट १० परीक्षार्थी भित्र परेका लालबहादुरलाई कक्षा १२ पनि सजिलै उत्तीर्ण गर्छु भन्ने आत्मविश्वास छ उनी भन्छन् । अङ्ग्रेजी विषयमा चाहिँ एक दुई वटा प्रश्नका उत्तर लेख्न सकिँन, तर फेलै चाहिँ भइन्न होला ,अब बाँकी विषय त सजिलै छन् । आफ्नै शैलीमा लेख्न सक्छु ।

कक्षा ७ पढ्दै गर्दा २०३५ सालमा प्रहरीमा भर्ती भएका लालबहादुर २०५५ सालमा नेपाल असई बाट सेवानिवृत्त भएका हुन्। पारिवारिक विपन्नताका कारण शुल्क तिर्न नसक्दा आफूले अध्ययन गर्न नपाएको पीडा मनभित्रै रहिरहेको थियो । खाने मुखलाई जुँगाले छेक्दैन भनेझैँ बि.क.ले विक्रम सम्वत २०४२ सालमा तनहुँको आँबुखैरेनी गाउँपालिका स्थित रामशाह मा.वि.बाट प्राइभेट एस.एल.सी.परीक्षा दिई तृतीय श्रेणीमा उत्तीर्ण पनि भएँ । वि.क. ले भने, पहिला गाउँकै स्कुल पढ्न पनि पैसा लाग्थ्यो । हामी ४ भाई, १ बहिनी थियौँ । आर्थिक अभावका कारण पढाइ छोड्नु पर्यो । तर,मनबाट पढ्नु पर्ने भोक हराएन ।
छोराछोरी जन्मिसकेका थिए । आफ्नो रहर मात्र हेरेर भएन । घर व्यवहार पनि चलाउनु पर्यो । विगत सम्झँदै लालबहादुरले भने,पेन्सन आएपछि पनि पढ्ने अनुकूलता मिलेन । अहिले छोराछोरीहरू सबै हुर्किए । बिहेबारी भइसक्यो । अब पढ्नलाई सहज छ । त्यसैले फेरि कक्षा ११ मा भर्ना गरेर पढ्न थालेको हुँ । कक्षा १२ पछि स्नातक तहमा कानुन विषय लिएर पढ्ने इच्छा भएको उनी बताउँछन्।
कक्षा ११ र १२ मा शिक्षा शास्त्र संकाय अन्तर्गत ऐच्छिक नेपाली विषयलाई मूल विषय बनाएर अध्ययन गरेका बि.क.को लेखन शैली अत्यन्तै राम्रो स्पष्ट र छिटो भएको उनलाई अध्यापन गराउने नेपाली शिक्षक चेतनाथ पन्तले प्रहार समाचारलाई बताए । पन्तका अनुसार-विद्यालय जाँदाखेरि विद्यालय ड्रेसमै जाने र अनुशासित भएर कक्षामा बस्ने गरेको देख्दा सबै शिक्षक विद्यार्थी र समाजलाई समेत प्रेरणा को स्रोत बनेकाछन् ।
शिक्षा विकास तथा समन्वय इकाइ गोरखाका अनुसार यो वर्ष नियमित तर्फ २ हजार ४ सय ७६ र ग्रेड वृद्धितर्फ १ हजार २ सय ५० जना परीक्षार्थीहरू गरि ३ हजार ७ सय २६ जना विद्यार्थीहरू कक्षा १२ को परीक्षामा सहभागी छन् ।


























