प्रहार समाचार । तनहुँ,२४ बैशाख २०८२ मङ्गलवार । तनहुँको व्यास नगरपालिका वडा नं.- १ विज्ञानचौरमा रहेको आदिकवि भानुभक्त क्याम्पसमा सिटिजन बैंक, दमौली शाखाले ‘आदिकवि सिटिजन अक्षय छात्रवृत्ति कोष’ स्थापना गर्ने भएको छ।

क्याम्पसमा व्यवस्थापन संकायमा स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीहरूलाई वार्षिक छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले १ लाख २ हजार रुपैयाँको ‘आदिकवि सिटिजन अक्षय छात्रवृत्ति कोष’ स्थापना गर्ने सम्झौता आज भएको भएको क्याम्पसले जनाएको छ।
क्याम्पसका तर्फबाट क्याम्पस प्रमुख महाप्रसाद हडखले र बैंक शाखा प्रबन्धक श्याम हरि तिवारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । सम्झौतामा उल्लेख भए अनुसार उक्त बैंक र क्याम्पसले ५१/५१ हजार गरी कुल १ लाख २ हजारको अक्षय कोष खडा हुने छ। अक्षयकोष स्थापनाकर्ता दुईवटै संस्थाले वार्षिक रुपमा कोषलाई वृद्धि गर्दै जाने लक्ष्य राखेका छन्। कोषको उद्देश्य आदिकवि भानुभक्त क्याम्पसमा व्यवस्थापन विषयको उच्च शिक्षाको अध्ययनलाई प्रवर्द्धन गर्नु रहेको छ।

आदिकवि भानुभक्त क्याम्पसमा व्यवस्थापन संकाय अन्तर्गत स्नातक तहमा सञ्चालन हुँदै आइरहेको बिबिएस र बिबिए कार्यक्रमहरूमा मात्र करिब १ हजार जना भन्दा बढी विद्यार्थीहरू अध्ययन गर्दै आइरहेका छन्। क्याम्पसका ९० प्रतिशत विद्यार्थीहरू तनहुँ, लमजुङ र गोरखा जिल्लाका ग्रामीण भेगका सामाजिक, शैक्षिक तथा आर्थिक रूपले विपन्न एवम् पिछडिएको वर्गका रहेका समेत व्याम्पसले जनाएको छ ।
























