प्रहार समाचार । काठमाडौँ,२३ बैशाख २०८२ मङ्गलवार । नेकपा एमालेका नेता प्रदीप नेपालको आज निधन भएको छ । नेपाल लामो समयदेखि पार्किन्सन रोगबाट पीडित नेपालको मंगलबार दिउँसो निधन भएको अस्पताल स्रोतले जानकारी दिएको छ।

उनलाई थापाथलीस्थित नर्भिक अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेको थियो । उनलाई निमोनिया पनि देखिएको अस्पताल स्रोतले जानकारी दियो । एमालेको ९ महिने शासनकालमा २०५१ सालमा उनि सञ्चारमन्त्री बनेका थिए ।
दोस्रो जनआन्दोलनपछि उनी पुनःस्थापित सरकारमा शिक्षामन्त्री भएका थिए। नेपाल साहित्यकार पनि थिए ।नेपाल साहित्य, लेखन, गीत र संगीतमा सक्रिय थिए । नेपाल एमालेको मुखपत्र नवयुगको सम्पादक भएर समेत काम गरेका उनले दृष्टि र छलफल पत्रिकाको पनि सम्पादक भएका थिए ।
स्पष्ट विचार, तर्कशील विश्लेषण र साहित्यिक भाषाशैलीका कारण प्रदीप नेपाल राजनीतिक वृत्तमा फरक पहिचान बनाउन सफल थिए । वि.सं. २०१० पुस २८ गते भोजपुर जिल्लाको गोगने गाउँमा जन्मेका उनको निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको नेकपा एमालेले जनाएको छ।
























