• विजय अधिकारी ( संवाददाता ) लमजुङ, २३ चैत २०८१ आइतवार । लमजुङ सदरमुकाम बेसीशहरमा हिंजो भएको ‘विश्व शान्तिको लागि म्याराथन’ प्रतियोगितामा नेपाली सेनामा कार्यरत दोलखाका कुलबहादुर बस्नेत प्रथम भएका छन् ।

लमजुङ जेसीज र पिस हिल रिसोर्टको संयुक्त आयोजनामा सम्पन्न प्रतियोगितामा जर्सी नम्वर ६ का बस्नेतले बेसीशहर नगरपालिका वडा नम्बर-१० स्थित पिस हिल रिसोर्ट देखि बेसीशहर नगरपालिका वडा नम्बर-३ को ऐतिहासिक गाउँशहर दरबार सम्मको निर्धारित २६ किलोमिटर दुरी २ घण्टा १६ मिनेटमा पार गरी प्रतियोगितामा प्रथम भएका हुन् । प्रथम भएका बस्नेतले नगद ३० हजार सहित मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरे । त्यस्तै प्रतियोगितामा तनहुँका जर्सी नम्वर २१ का आदित्य जि.सी. दोस्रो भए । उनलेे २ घण्टा १८ मिनेटमा दूरी पूरा गर्दै १५ हजार सहित मेडल र प्रमाणपत्र पुरस्कार पाए ।

त्यस्तै प्रतियोगितामा सहभागी मध्ये उत्कृष्ट प्रदर्शन गर्ने ९ जनालाई १ हजार सहित मेडल र प्रमाणपत्र सान्त्वना पुरस्कार प्रदान गरिएको लमजुङ जेसीज वर्ष २०२५ का शाखा अध्यक्ष प्रतिकजंग तामाङले प्रहार समाचारलाई जानकारी दिए ।

उनका अनुसार-सान्त्वना पुरस्कार पाउनेहरुमा जर्सी नम्वर २० का गौतम श्रेष्ठ, जर्सी नम्वर ७ का रामजी बस्नेत, जर्सी नम्वर १६ का श्रीलाल तामाङ, जर्सी नम्वर ४७ का अनिल गुरुङ, जर्सी नम्वर ३३ का अनुज गुरुङ, जर्सी नम्वर २ का प्रकाश तामाङ, जर्सी नम्वर १ का पवन घले, जर्सी नम्वर ३२ का मिनराशी वि.क. र जर्सी नम्वर ५ का तिलक कुईकेल रहेका छन् ।

३५ जना धावकहरुको सहभागिता रहेको प्रतियोगितामा १ जना महिलाको पनि सहभागिता रहेको र उनलाई आयोजक पिस हिल रिसोर्टको तर्फबाट सम्मान स्वरूप ३ हजार रुपैयाँ प्रदान गरिएको थियो ।

लमजुङ जेसीजका अध्यक्ष प्रतिक जङ तामाङको अध्यक्षतामा भएको समापन कार्यक्रमको प्रमूख आतिथि बेसीशहर नगरपालिकाका मेयर गुमानसिँह अर्यालले प्रतियोगिताका विजेताहरुलाई गाउँशहरमा पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए । समापन कार्यक्रममा बोल्दै मेयर अर्यालले यस्ता प्रतियोगिताले युवाहरुको शारीरिक तथा मानसिक विकासमा सकारात्मक प्रभाव पार्ने बताए।
कार्यक्रममा कृषि विकास बैक बेसीशहर शाखा प्रवन्धक सूर्यप्रसाद गैरे, लमजुङ जेसिजका पूर्व अध्यक्ष राजु अर्याल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
म्याराथन दौड सुरु हुनुअघि मर्स्याङ्दी गाउँपालिका वडा नम्बर-५,भुस्मे गाउँका आमा समूहले सहभागीलाई टीका र फूलमालाले स्वागत गर्दै शुभकामना दिएका थिए।
म्याराथन सफल बनाउन लमजुङ हङकङ सम्पर्क समिति, कृषि विकास बैंक, विभिन्न युवा क्लबहरू लगायतका संस्थाले सहयोग गरेको अध्यक्ष तामाङले बताए ।
लमजुङ जेसीजका निवर्तमान अध्यक्ष सन्तोश श्रेष्ठले उपस्थित सबैलाई स्वागत गरेको कार्यक्रमको सहजिकरण लमजुङ जेसीजकै कार्यकारिणी उपाध्यक्ष खुशीमाया गुरुङले गरेकी थिइन् ।
























