प्रहार समाचार । तनहुँ, २६ फागुन २०८१ सोमवार । तनहुँको व्यास नगरपालिकाका चार जना कर्मचारीहरुको ‘व्यास नगरअडियो काण्ड’ का बारेमा आज कार्यपालिकाको बैठकमा व्यापक छलफल भई एक कर्मचारीलाई निलम्बन फुकुवा र अन्य तीन जना कर्मचारीहरुलाई थप कार्रवाहिको सिफारिस गरिएको छ।

नगर प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको बैठकले व्यास १३ कटन टोलमा सरसफाइ केन्द्रको जग्गा खरिद गर्ने क्रममा पटक पटक अवरोध सृजना गर्ने, मादक पदार्थ सेवन गरेर सिङ्गो नगरपालिकाका जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतका विरुद्ध बोलिएको अडियो उपर यहि फागुन १९ गते सात दिने स्पष्टिकरण सोधिएको थियो । उक्त स्पष्टिकरण सोधिएकोमा चालक कुशेश्वर गुरुङले घटनाक्रम प्रति स्वीकार गरी क्षमा मागेकोले निजको हकमा सचेत गराई निलम्बन फुकुवा गर्ने निर्णय गरेको छ। यस्तै अन्य तीन जना कर्मचारिहरु वरिष्ट अलेप अधिकृत कुमार कञ्चन जि सी, स्वास्थ्य शाखा प्रमुख प्रमोद सोती र सरसफाई शाखा प्रमुख कृष्णराज घिमिरेलेलाई एकै स्थानमा बस्ने कर्मचारीहरु बीच फरकफरक स्पष्टीकरण प्राप्त भएकोले पुन: स्पष्टिकरण माग गरी राजनैतिक दल, नागरिक समाजको भावनाको कदर गर्दै कानुन बमोजिमको कारबाही अघि बढाउन प्रमुख प्रशासकीय अधिकृत काशिराम गैरेलाई निर्देशन दिने निर्णय गरेको व्यास नगरका प्रवक्ता सुरेश थापाले जानकारी दिए ।

त्यसैगरी नगरपालिकाले सरसफाइ केन्द्र स्थापनासम्बन्धी राजनीतिक दलहरूले दिएको सुझावप्रति धन्यवाद ज्ञापन गर्दै सरसफाइ केन्द्र स्थापनाका लागि टुंगोमा पुर्याउन वा वैकल्पिक व्यवस्था खोज्न राजनीतिक दलहरूसँग सहयोग गर्न अनुरोध गर्ने निर्णय गरेको छ।
त्यस्तै बैठकले बैठकले व्यास–११, गैराबारीमा निर्माण गरिएको चिस्यान केन्द्र व्यास नगरपालिकाले सञ्चालन गर्ने निर्णयसमेत गरेको नगर प्रवक्त थापाले जानकारी दिए।


























