प्रहार समाचार । ताप्लेजुङ ,११ फागुन २०८१ आइतवार । ताप्लेजुङ फुङ्लिङ नगरपालिकामा आज बिहान ५ बजेदेखि अर्को सूचना नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ।

पाथीभरा क्षेत्रमा निर्माण हुने केवलकारको विषयलाई लिएर ताप्लेजुङमा फेरि झडप भएपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

‘नो केबलकार समूह’ र प्रहरीबीच ताप्लेजुङ सदरमुकाम फुङलिङमा शनिबार साँझ झडप भएको थियो ।
काफ्लेपाटी क्षेत्रबाट फर्किएको समूहले शनिबार बेलुका फुङलिङ बजारमा नारा जुलुससहित राँके जुलुस प्रदर्शन गरेका थिए । त्यही क्रममा वीरेन्द्र चोकमा झडप भएको हो । झडपका क्रममा प्रदर्शनकारी र प्रहरी दुवैतर्फ केही घाइते भएको बताइएको छ । प्रदर्शनमा मधेश प्रदेशबाट आएकाहरु समेत सहभागी छन् ।
काफ्लेपाटीबाट फर्किएका आन्दोलनकारीको प्रदर्शनपछि कोणसभालाई विभिन्न नेताले सम्बोधन गरेका थिए । उनीहरुले केबलकार कुनै हालतमा बन्न नदिने दोहोर्याएका छन् ।


















