प्रहार समाचार । तनहुँ, ७ फागुन २०८१ बुधवार । ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने मूल नाराका साथ म्याग्दे गाउँपालिका वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता भोलिबाट सञ्चालन हुने भएको छ।

‘म्याग्दे गाउँपालिका दोस्रो अध्यक्ष कप २०८१’ अन्तर्गत सञ्चालन हुने उक्त प्रतियोगिता १० गतेसम्म सञ्चालन हुने म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले जानकारी दिए।
पालिकालाई खेलकुदको हब बनाई लुकेर रहेका प्रतिभाको पहिचान गराउने उद्देश्यले तथा खेलकुदमा यूवा यूवतीहरुलाई आकर्षण गराउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए ।
प्रतियोगितामा प्रथम हुनेलाई ८० हजार नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ। द्वितीय हुनेलाई ५० हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ। प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट सर्भर, उत्कृष्ट सेन्टर, उत्कृष्ट ब्लकर, उत्कृष्ट लिवरो र उत्कृष्ट प्रशिक्षकलाई लोगो अंकित खेलकुद पोसाक प्रदान गरिने पालिकाले जनाएको छ।
























