हेडलाईनसमाचारगण्डकीशुक्लागण्डकी

शुक्लागण्डकी नगरपालिका ११ मा ‘महाशिवरात्री धार्मिक महोत्सव २०८१’ आयोजना गरिने

प्रहार समाचार । तनहुँ, ७ फागुन २०८१ बुधवार । तनहुँको शुक्लागण्डकी नगरपालिका ११ मा ‘महाशिवरात्री धार्मिक महोत्सव २०८१ ’ आयोजना गरिने भएको छ ।

१ सय २० बर्षभन्दा पुरानो मन्दिरको प्रचार प्रसार गर्ने तथा मानिसहरुमा हिन्दु धर्मप्रति आस्था जगाउने उद्देश्यले उक्त महोत्सव आयोजना गर्न लागिएको हो ।
१९६० ताका साँखे देवलमा दुई खोलाको सँगम स्थलमा रहेको शंखाकार ढुँगाबाट दाहिने शंख बजेको सुनेर पुजा गर्दै आएको स्थानीयहरु अहिले उक्त स्थानलाई धामको रुपमा विकास गर्न महायज्ञ आयोजना तयारीमा जुटेका हुन् ।

शिवालय क्षेत्रको रुपमा परिचित यो मन्दिरमा बर्षेनी शिवरात्री पर्वमा तनहुँ र स्याङ्गजा सहित विभिन्न स्थानबाट भक्तजनहरु दुध चढाउन र रातभर जाग्राम बसेर ठाडो बत्ती बाल्न सहभागि हुने गर्दछन् । यो मन्दिरमा पुजा आराधना गर्नाले निसन्तान जोडीलाई सन्तान प्राप्ती हुने र मनोकाँक्षा पुरा हुने जनविस्वास रहेको छ ।

तनहुँको शुक्लागण्डकी नगरपालिका र स्याङ्गजा जिल्लाको हरिनास र विरुवा गाउँपालिकाको केन्द्रमा पर्ने मन्दिरमा आयोजना गरिने धार्मिक महोत्सवले यस क्षेत्रमा रहेको पुरातात्विक संरचनाहरु जन्ते ढुँगा क्षेत्र, सिता पाइला, जनकवि गोकुल जोशीको जन्मस्थान, रजस्थलकोट दरवार र मिलेनियम गुफा लगायतका स्थानको प्रवद्र्धन गर्न सहयोग पुग्ने शिवालय मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष निलकण्ठ अर्यालले विश्वास व्यक्त गरे ।

आगामी विहीवाररबाट सुरु हुने श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवम् श्रृङ्गारिक महाआरती सहितको धार्मिक महोत्सवबाट संकलन भएको रकमले मन्दिरको भौतिक विकाससँगै, दैनिक पुजा पाठ सुरु गर्ने र राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा मन्दिरको बारेमा प्रचार गर्ने लक्ष्य रहेको महायज्ञ मुल समारोह समितिका संयोजक गंगाराम भट्टराईले जानकारी दिए । 

भट्टराईका अनुसार महायज्ञमा श्रीमद्भागवत  पाठपारायण, चण्डिपाठ, रुद्रीपाठ, सहश्र जलधारा, ग्रहशान्ति, चौरासी पुजा, पितृतर्पण,तुलादान अखण्ड दिपप्रज्वलन र ठाडो बत्ती वाल्ने लगायतका कार्यक्रम समेटिएको छ । १५ गतेसम्म सञ्चालन हुने धार्मिक महोत्सवमा कथाबाचक पण्डित कपिल भट्टबाट संगितमय प्रवचन सुन्न सकिनेछ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button