प्रहार समाचार । काठमाडौँ, ५ फागुन २०८१ सोमवार । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले जनकपुरको ८ सय बिघा जग्गा अपचलन गर्ने दलका नेताहरूको नाम सार्वजनिक गर्ने बताएका छन् ।

आज प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद झाले आगामी बैठकमा कुन दलका नेताले कति जग्गा लुटे भनेर सार्वजनिक गर्ने बताएका हुन् ।
‘१४ सय बिघा जग्गा दिएर जनकपुर पुनर्निर्माण गरियो । त्यसपछि ७२ कुण्ड र ५२ कुटी शहरको रूपमा परिचित भयो । तर अहिले १४ सय बिघामा २ सय बिघा मात्रै बाँकी छ । पुराना दलका सबै नेता, त्यहाँका स्थानीय जनप्रतिनिधि, ठेकेदार, दलाल, सबै मिलेर १२ सय बिघा जग्गा लुटिसके,’ झाले दाबी गर्दै भने, ‘यस सम्बन्धमा पटकपटक संसदमा आवाज उठाउँदा पनि सुनुवाइ भएन ।’
उनले भने ‘विभिन्न चरणमा हामी सरकारमा हुँदा केही कमिटी बनाएर प्रतिवेदनमा काम गरेका थियौं । वर्तमान सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छु । म आफैं पनि काम गर्दैछु । आगामी बैठकमा कुन-कुन नेताले कति कति जग्गा लिएको छ जानकारी लिएर उपस्थित हुन्छु ।’- लोकान्तरबाट