प्रहार समाचार । काठमाडौं, २९ माघ २०८१ मङ्गलवार । नाबालिकालाई घरेलु कामदार बनाएको आरोप लागेकी एमाले सांसद रेखा शर्माविरुद्ध जिल्ला र उच्च सरकारी वकिलले मुद्दा नचलाउने निर्णय गरेका छन्। यस घटनाले सामाजिक तताएको छ। स जहाँ काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पनि आफ्नो धारणा सार्वजनिक गरेका छन्।

बालेन शाहले आफ्नो फेसबुक स्टाटसमा लेख्दै भनेका छन्, “सरी नानु, तिम्रा पिडककाविरूद्धमा मुद्दा नचल्ने बनाएछ सरकारले। नआत्तिनु। समय आउँनेछ। यस्तै विभेद, अपराध मास्न अनि ति कुकर्म गर्नेहरूलाई तहलगाउन तिमी र तिमी जस्तै धेरै नानीबाबुले पढ्न पर्छ। समाज बुझ्न पर्छ।”
उनको यो अभिव्यक्तिले बालश्रम, नाबालिकामाथि हिंसा तथा न्याय व्यवस्थाका विषयमा चर्को बहस सिर्जना गरेको छ। सामाजिक संजालमा धेरै प्रयोगकर्ताहरूले पनि सरकारको निर्णयको आलोचना गर्दै पीडितलाई न्याय दिनुपर्ने माग गरेका छन्।
यस प्रकरणमा सांसद रेखा शर्माको कुनै आधिकारिक प्रतिक्रिया आएको छैन। तर, सरकारको यो कदमले बालअधिकार तथा मानवअधिकारकर्मीहरूलाई निराश बनाएको छ।
समाजका विभिन्न क्षेत्रबाट न्यायको माग भइरहेका बेला यस प्रकरणले आगामी दिनमा कानुनी र राजनीतिक रूपमा कस्तो मोड लिन्छ भन्ने सर्वत्र चासोको विषय बनेको छ।


























