प्रहार समाचार । तनहुँ २७ माघ २०८१ आइतवार । पृथ्वीराजमार्गको मुग्लिन देखि कोत्रे सम्मको तनहुँको ७२ किलोमिटर सडक खण्डमा दिनप्रतिदिन सडक दुर्घटना बढ्दै गएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँ र जिल्ला प्रहरी कार्यालय तनहुँ दुर्घटना न्यूनीकरणमा लागि परेका छन् ।

पृथ्वीराजमार्गको मुग्लिनदेखि कोत्रेसम्म सडक विस्तार गर्ने क्रममा कतै सडक राम्रो बनेको त कतै बन्दै गरेको अवस्थामा छ । यस्तो अवस्थामा सडक दुर्घटनालाई न्यूनीकरण गर्नका लागि संयुक्त दुर्घटना न्यूनीकरणका उपायहरु गरिरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख एसपी वीरेन्द्रबहादुर शाहीले बताए ।
‘अहिले सडक कम्प्लिट रूपबाट सम्पन्न नभइसकेको अवस्थामा गति ३० र ४० मा मात्र का बोर्डहरु सम्भावित दुर्घटनास्थलहरुमा राखिएको छ । यसले दुर्घटनामा न्यूनिकरणमा मद्दत पुऱ्याउँछ ।’ – एसपी शाहीले भने ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी निरीक्षक कृष्ण बहादुर चन्दले अहिले पोखरा मुग्लिङ सडकको पूर्वी खण्डमा बढी दुर्घटना हुने गरेको बताए । बढी दुर्घटना हुने सम्भावित क्षेत्रहरू सत्र सय फाँट, यम्पा फाँट, गोरे चौतारा, बिमलनगर मोड, डुम्रे, मस्याङ्दी रिसोर्ट नजिकै लगायतका स्थानहरुमा ट्राफिक प्रहरीको सक्रियतामा गति निर्धारण ट्राफिक संकेत बोर्डहरु राखीएको उनले जानकारी दिए । उनले भने ‘हामीले बोर्ड मात्र राखेका छैनौं यसको कार्यन्वयनमा पनि ध्यान दिएका छौ।’

ट्राफिक प्रहरीले सम्भावित दुर्घटनास्थल आसपासमा छोटो समय सवारी साधन रोकेर चालकहरुलाई सम्झाउने र बुझाउने काम गरेका छौ ।’ सवारी साधन तिभ्र गतिमा चलाउने चालकलाई ऱ्याडर गनको सहायताले गतिको चेक जाँच पनि थालिएको ट्राफिक प्रमुख चन्दले बताए ।

तनहुँका ट्राफिक प्रहरीलाई श्रोत र साधनको अभाव :

यसै बिच जिल्ला ट्राफिक प्रहरी तनहुँलाई दुर्घटना न्यूनिकरणमा उपयोग हुने विभिन्न श्रोत र साधनहरुको अभाव रहेको छ। पृथ्वी राजमार्ग अन्तर्गत तनहुँमा पर्ने ७२ किलोमिटरको दुरीको लागि तनहुँ ट्राफिक प्रहरीसंग एउटा मात्र ऱ्याडर गन रहेको छ। ‘यो ऱ्याडर गन कहिले आँबुखैरेनी , कहिले डुम्रे कहिले बेलचौतरा पठाउनु पर्ने बाध्यता छ । पालिका तथा स्थानिय तहलाई सहयोगको आग्रह गर्दा कसैले वास्ता गर्दैनन् ।’- ट्राफिक प्रमुख चन्दले भने । ‘सवारी दुर्घटना न्यूनिकरण गर्नु सबैको दायित्व हैन र ? उनको प्रश्न थियो । अहिले ट्राफिक प्रहरी कार्यालय तनहुँले विद्यालय र कलेजका विद्यार्थीहरूलाई ट्राफिक जनचेतना फैलाउने कामलाई पनि तीव्रता दिन थालेको जनाएको छ ।

यस्तै ट्राफिक प्रहरी कार्यालयले दुर्घटना बढेसँगै मादक पदार्थ लगायत अन्य नशालु पदार्थ सेवन नगरी सवारी साधन चलाउन, सवारी साधनहरुलाई निर्यामित चेक जाँच गराई कण्डिसनमा राख्न, सवारीचालकहरुलाई ट्राफिक नियमको पालना गरी सवारी साधन चलाउन, सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगर्न तथा क्षमता भन्दा बढी यात्रु नराख्न समेत आग्रह गरेको छ।




























