प्रहार समाचार । तनहुँ, १५ माघ २०८१ मङ्गलवार । तनहुँको सदरमुकाम दमौलीमा दोस्रो रामज्योति कप फुटबल प्रतियोगिता २०८१ आज बाट सुरु भएको छ।

व्यास नगरपालिका वडा नं ४ मा रहेको राम ज्योति इङ्ग्लिस बोर्डिङ स्कुलको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन गर्दै जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले खेलकुद स्वास्थ्यका लागि मात्र नभएर नेपालाई विश्वमा चिनाउन समेत सहायक सिद्ध रहेको बताए । कार्यक्रममा व्यास ३ का वडा अध्यक्ष अनुप राना, व्यास ४ का वडा अध्यक्ष मानबहादुर गुरुङ, नेशनल प्याब्यासन तनहुँका अध्यक्ष विश्वेश्वर खनाल, रामज्योति इङ्लिस बोडिङ स्कूलका सल्लाहकार श्रीराम कार्की लगायतले खेलकुँद विद्यार्थीहरुको अन्तर्रनिहित प्रतिभाको प्रष्फुटन गराउने उपयुक्त थलो भएको बताए ।

आजदेखि १९ गतेसम्म दमौली स्थित विपी वन वाटिकाको खेल मैदानमा उक्त प्रतियोगिता भइरहेको छ। प्रतियोगिताको आजको पहिलो खेल आयोजक विद्यालय रामज्योति इङ्लिस बोडिङ स्कूल र आदिकवि भानुभक्त माध्यामिक विद्यालय बिच भएको खेलमा पेनाल्टिका आधारमा आदिकविले जित्न सफल भएको छ ।

यसै गरि लालिगुराँस इङ्लिस बोडिङ स्कूल र इन्देणी स्काई बोडिङ स्कूल बिच भएको दोस्रो खेल पनि ट्राइबेकरमा इन्द्रेणी स्काइले जित्न सफल भयो। यसैगरि आजै भएको दमौली पब्लिक इङ्लिस बोडिङ स्कूल र ब्लुमिङ ऐकेडेमी बिचको तेस्रो खेल पनि ट्राइबेकरका आधारमा दमौली पब्लिक इङ्लिस बोडिङ स्कूलले जित्न सफल भएको खेलकुँद संयोजक अनिल न्यौपानेले बताए ।

विद्यार्थी भाइबहिनीहरूमा फुटबल खेलप्रति अभिरुचि जगाउने उद्देश्यले दोस्रोपटक प्रतियोगिता आयोजना गरिएको रामज्योति बोर्डिङ स्कुलका प्रिन्सिपल विपिन गौलीले बताए । प्रतियोगितामा व्यास नगरपालिका भित्रका १६ विद्यालयका विद्यार्थी खेलाडीहरुको सहभागिता रहेको प्रिन्सिपल गौलीले जानकारी दिए ।

प्रतियोगितामा विजेता र उपविजेता हुनेलाई क्रमश ३५ हजार ५ सय ५५ र १८ हजार ५ सय ५५ रुपैयाँ नगद सहित मेडल ट्रफी र प्रमाण पत्र प्रदान गरिने छ । यसैगरी उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, सर्वाधिक गोलकर्ता घोषित गरी नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिने भएको छ ।
प्रतियोगिता 11 A साइड भइरहेको र यस प्रतियोगिताले व्यास नगरपालिका भित्रका विद्यार्थीहरुमा फूटवल खेलप्रति अभिरुचि जगाउने विश्वास खेल संयोजक अनिल न्यौपानेले लिए । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बसुन्धरा घर्तीको सभापतित्वमा भएको थियो ।


























