प्रहार समाचार । तनहुँ, १३ माघ २०८१ आइतवार । तनहुँको सदरमुकाम दमौलीमा दोस्रो रामज्योति कप फुटबल प्रतियोगिता २०८१ हुने भएको छ । व्यास नगरपालिका वडा नं ४ मा रहेको राम ज्योति इङ्ग्लिस बोर्डिङ स्कुलको आयोजनामा यही माघ १५ गतेदेखि १९ गतेसम्म दमौली स्थित विपी वन वाटिकाको खेल मैदानमा प्रतियोगिता हुने हिंजो आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

विद्यार्थी भाइबहिनीहरूमा फुटबल खेलप्रति अभिरुचि जगाउने उद्देश्यले दोस्रोपटक प्रतियोगिता गर्न लागेको रामज्योति बोर्डिङ स्कुलका प्रिन्सिपल विपिन गौलीले जानकारी गराए । ‘व्यास नगरपालिका भित्रका ३६ वटा विद्यालयका विद्यार्थी खेलाडीहरुको उक्त प्रतियोगितामा सहभागिता रहने छ।’ – प्रिन्सिपल गौलीले भने ।
प्रतियोगितामा विजेता र उपविजेता हुनेलाई क्रमश ३५ हजार ५ सय ५५ र १८ हजार ५ सय ५५ रुपैयाँ नगद सहित कप, मेडल ट्रफी र प्रमाण पत्र प्रदान गरिने छ । यसैगरी उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, सर्वाधिक गोलकर्ता घोषित गरी नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिने भएको छ।
प्रतियोगिता 11 A साइड हुने र यस प्रतियोगिताले व्यास नगरपालिका भित्रका विद्यार्थीहरुमा फूटवल खेलप्रति अभिरुचि बढाउने खेल संयोजक अनिल न्यौपानेले बताए ।


























