प्रहार समाचार । तनहुँ, ९ माघ २०८१ बुधवार । तनहुँ जिल्लाका १४ हजार बढि किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर निवारण गर्ने एच पि भी खोप लगाइने भएको छ ।

प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँद्वारा हिंजो दमौलीमा आयोजित जिल्लास्तरीय खोप समन्वय समितिका पदाधिकारीहरु तथा संचारकर्मीहरुको लागि अभिमुखिकरण कार्यक्रममा उक्त कुराको जानकरी गराइएको हो ।

जिल्लामा दुई चरणमा एच पि भी खोप अभियान सञ्चालन गरिने स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए ।
अधिकारिका अनुसार पहिलो चरणमा माघ २२ गतेदेखी व्यास नपा, भानु नपा, देवघाट, आबुँखैरेनी र बन्दिपुर गाउँपालिकाका ४४ वटा वडा र दोश्रो चरण माघ २७ गतेदेखी ३० गतेसम्म शुक्लागन्डकी नपा, भिमाद नपा, म्याग्दे, ऋषिङ र घिरिङ गाउँपालिकाका ४१ वटा वडाका कक्षा ६ देखी १० सम्म विद्यालयमा अध्ययन गर्ने तथा विद्यालय नजाने १० देखी १४ वर्ष उमेर सम्मका किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर निवारण गर्ने एचपिभी खोप लगाईने छ ।

उक्त खोप कार्यक्रमकोलागि तनहुँमा २ सय ५९ वटा आधारभुत र माध्यमिक विद्यालयलाई खोप केन्द्र तय गरिएको छ। उक्त कार्यकोलागि जिल्लाका २ सय ५९ जना स्वास्थ्यकर्मी र ५ सय १८ जना महिला स्वास्थ्य स्वयंसेविकाहरु एकै साथ परिचालन हुनेछन् ।

कार्यालयका अनुसार तनहुँमा विद्यालय जाने १० देखी १४ वर्ष उमेर सम्मका किशोरीको संख्या १४ हजार ७८ र विद्यालय नजाने उक्त उमेर समुहका किशोरीको संख्या २ सय रहेको छ । तनहुँमा विद्यालय जाने उक्त उमेर समुहका किशोरीको व्यास नपामा ३ हजार ८ सय ४५ रहेको छ । घिरिङ गाउँपालिकामा ५ सय ८० जना रहेका छन् । त्यसैगरि विद्यालय नजाने १० देखी १४ वर्षसम्मका किशोरीको संख्या शुक्लागन्डकी नगरपालिकामा १ सय १५ जना रहेका छन् भने बन्दिपुर गाउँपालिकामा ३६ जना रहेका छन् । अभियानमा तनहुँका १४ हजार २७८ जना उक्त उमेर समुहका किशोरीहरुलाई एचपिभि खोप दिइने लक्ष्य रहेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए ।

जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेको अध्यक्षतामा बसेको उक्त बैठकमा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा, दमौली अस्पतालका प्रमुख डा.परिवर्तन बराल लगायतले किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउन सरकारले एचपिभि खोपको नीति ल्याएको हुँदा सबैले उक्त खोप अभियानलाई प्रभावकारी रुपमा सन्चालन गरि सहयोग गर्न आग्रह गरे ।

नेपालमा हरेक वर्ष २ हजार १६९ जना महिलामा पाठेघरको क्यान्सर हुने, त्यसमध्ये १ हजार ३१३ जनाको उक्त रोगको कारण मृत्यु हुने गर्छ । हरेक दिन ४ जना महिलाको पाठेघरको क्यान्सरको कारण मृत्यु हुने गरेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १० देखी १४ वर्ष उमेरसम्मका किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउन एचपिभी खोप लगाउने नीति ल्याएको हो ।


























