प्रहार समाचार । तनहुँ, ७ माघ २०८१ सोमवार । ‘स्वस्थ्यका लागि खेलकुँद , राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ व्यास नगरपालिका वडा नं ९ गजौडेमा संगम युवा क्लबको आयोजनामा प्रजातन्त्र सेनानी नगेन्द्र थापा स्मृति प्रथम गजौडे कप खुल्ला 7A साईड फुटबल प्रतियोगिता हुने भएको छ ।

प्रतियोगिता माघ १५ गतेबाट २० गते सम्म सञ्चालन गजौंडेमा आज आयोजित पत्रकार सम्मेलन तथा छलफल कार्यक्रममा जानकारी दिइयो ।

कार्यक्रममा बोल्दै व्यास ९ का वडा अध्यक्ष सुरेश थापाले संगम युवा क्लबले वडा ९ मा उदाहरणीय काम गरेको उल्लेख गर्दै प्रजातन्त्र सेनानी नगेन्द्र थापाले राजाको निरङ्कुश शासन व्यवस्थ्था विरुद्ध हतियार उठाउने आन्दोलनमा २०१८ सालमा पक्राउ परी २०२४ सालमा ५ वर्षे सेन्टर जेलमा बन्दी जीवन विताएको स्माण गरे । उनले खेलकुँदको माध्यमबाट प्रजातन्त्रका सेनानीको स्मरण गर्दै गजौडेको प्रचारप्रसार गर्दै युवाहरुलाई खेलकुद प्रति आकर्षित गर्ने उद्देश्यले यस्ता प्रतियोगिता कोशेढुङ्गा सावित हुने बताए ।

कार्यक्रममा गजौडे टोल विकास संस्थाका अध्यक्ष शुक्रजङ अधिकारी, सुनौलो नया गोरेले कृषि सहकारी संस्थाका अध्यक्ष विष्णु अधिकारी, जिल्ला रेडक्रस सोसाइटी कलेस्टी शाखाका सभापति बाबुराम खनाल, समाजसेवी शिवशंकर पौडेल लगायतले प्रजातन्त्र सेनानी नगेन्द्र थापाको योगदान लाई स्मरण गर्दै पछाडी परेको गजौडेलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा परिचय गराउँदै यूवा माझ खेल प्रति जागरण ल्याउने उद्देश्यले आयोजित प्रतियोगिताको ठूलो महत्व रहेको चर्चा गरे ।

प्रतियोगिता सञ्चालन गर्न ३ लाख ५० हजार भन्दा बढि खर्च हुने त्यस अवसरमा बताइयो ।
प्रतियोगितामा प्रथम हुने टिमलाई ५५ हजार ५ सय ५५ ट्रफी, मेडल र प्रमाणपत्र , दोस्रो हुने टिमलाई ३३ हजार ३ सय ३३ ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ। यसैगरि उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट गोलकर्तालाई पनि पुरस्कारको व्यवस्था गरिएको बताइएको छ।

प्रथम पुरस्कारको प्रायोजन लगायत व्यवस्थापनका लागि प्रजातन्त्र सेनानी नगेन्द्र थापाका छोरा एवं वडा नं ९ का वडा अध्यक्ष सुरेश थापाले १ लाख ११ हजार १ सय ११ रुपैया सहयोग गर्ने भएका छन्।

उक्त प्रतियोगिता सञ्चालन गर्नका लागि खेलकुँद प्रति रुचि राख्ने स्वदेश तथा विदेशमा रहेका गजौंडे घर भएकाहरु लगायत स्थानीय बुद्धिजिवी , समाजसेवी लगायतहरुले सहयोग गर्ने क्रम सुरु भएको क्लवका उपाध्यक्ष धर्मराज गोदारले बताए । कार्यक्रम क्लबका अध्यक्ष नर बहादुर गुरुङको सभापतित्वमा सम्पन्न भएको थियो ।


























