प्रहार सनाचार । लमजुङ, ५ माघ २०८१ शनिवार । लमजुङको मध्यनेपाल नगरपालिका–४ स्थित दुईपिप्लेमा आयोजित ‘प्रथम मध्यनेपाल महोत्सव’ आजबाट सम्पन्न भएको छ।

महोत्सव ‘स्थानीय उत्पादन, पर्यटन तथा पूर्वाधार, मौलिक कला संस्कृति समृद्ध मध्यनेपालको आधार’ भन्ने मूल नाराका सम्पन्न भएको थियो । लमजुङ उद्योग वाणिज्य संघ दुईपिप्ले सोतिपसल बजार इकाईको आयोजनामा भएको उक्त महोत्सव समापन कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलले यस्ता मेला र महोत्सवले स्थानिय स्तरमा उत्पादीत वस्तुहरुको बजारीकरणमा टेवा पुग्ने बताए । उनले नेपाल कृषि प्रधान देश भएको चर्चा गर्दै मन्त्री कृषिका अतिरिक्त लमजुङ जिल्ला, कला, सांस्कृति, रितिराज र परम्पराको क्षेत्रमा धनि भएकाले यसको प्रचार प्रसार तथा संरक्षणमा लाग्नु पर्ने बताए ।

महोत्सव मुल आयोजक समितिका संयोजक रमेशचन्द्र भट्टराईले स्थानीय उद्योग, व्यापार, व्यवसायको प्रवद्र्धन गरी स्थानीयबासीको जीवनस्तर उकास्न महोत्सवले सहयोग गरेको बताए । भट्टराईले यस क्षेत्रका ऐतिहासिक, धार्मिक, पर्यटकीय क्षेत्र, स्थानीय उत्पादन, परम्परागत कला, संस्कार संस्कृति, व्यवसायीक होमस्टेको विस्तार र विकासकामा थोरै भएपनि सहयोग पुगेको बताए ।

गत पुस २४ गतेबाट सुरु भएको सो महोत्सवले सुस्ताएको आर्थिक गतिविधिलाई चलायमान बनाउने, मुलुककै मध्य भागमा रहेको यहाँ स्थित सो स्थलको बारेमा देशविदेशमा चिनारी एवम् प्रचार प्रसार गर्ने, स्थानीयस्तरमा रहेको बोटे र कुमाल जातिको होमस्टे लगायत पालिकाको डडुवा तथा मगर होमस्टेको समेत प्रवद्र्धन गर्नेमा महोत्सवले टेवा पुऱ्याएको महोत्सवका प्रवक्ता ओमविर गुरुङले बताए ।

महोत्सव ४० हजार भन्दा बढि दर्शकले अवलोकन गरेको र एक करोड आर्थिक कारोबार भएको बताइएको छ। महोत्सवमा स्थानीय उत्पादनका खानाका परिकारहरूको खाना महोत्सव, यही क्षेत्रमा रहेका भानु–घाँसी सम्वाद पार्क, मध्यनेपाल स्तम्भ निर्माण स्थल, पालिका भित्र रहेका नागभैरव, गौरीशंकर मन्दिर, मौलाकालिका, इशानेश्व मन्दिर अवलोकन, स्थानीय हस्तकला प्रशर्दनी, पशु तथा कृषि हाटको प्रवन्ध, संस्कृति संरक्षणमन लागि विभिन्न जातजातिका नाच, लमजुङको चिनारीका रुपमा रहेको ठाडोभाका, कौरा घाँटु लगायतका गीत तथा नृत्य प्रदर्शन, विद्यालयस्तरीय नृत्यका साथमा आमा समूहको नाच प्रचियोगिता सञ्चालन गरिएको थियो ।

लमजुङ, तनहुँ र कास्कीको संगमस्थलका रुपमा समेत परिचित रहेको रम्घा दुईपिप्लेमा सञ्चालन गरिएको यस महोत्सवले भविष्यमा अन्य महोत्सव सन्चालन गर्ने आधार प्रस्तुत गरेको प्रवक्ता गुरुङले बताए ।

महोत्सवको अन्तिम दिन आज गायक बद्री पंगेनीले आफ्नो प्रस्तुती दिएका थिए । उनको प्रस्तुतीमा दर्शकहरु नाचेका थिए गित प्रस्तुत गरेका थिए ।
महोत्सव समापनको अवसरमा महोत्सव सफल पार्न सहयोग गर्ने विभिन्न टोल विकास संस्था, जातीय संघ संस्था, विभिन्न सामाजिक संघ संस्था, आमा समुह, युवा क्लव, धार्मिक संघ संस्था, सन्चारमाध्यम, सामुदायिक तथा संस्थागत विद्यालय तथा अन्य सहयोगी संघ संस्थालाई मायाको चिनो प्रदान गरिएको बताइएको छ। महोत्सवमा कुल १ सय २० वटा स्टलहरु रहेका थिए । तीमध्ये कृषि र पशुपालनका उत्पादनका लागि २० वटा स्टल निःशुल्क उपलब्ध गराइएको थियो । तस्विर : देवघाट अनलाईनबाट


























