हेडलाईनसमाचारगण्डकीविजनेस

लमजुङमा धान उत्पादनमा बृद्धि : किसानहरु उत्साहित

• विजय अधिकारी (संवाददाता) लमजुङ,३ पुस २०८१ बिहीवार । लमजुङ जिल्लामा यस वर्ष धान उत्पादनमा वृद्धि भए पछि यहाँका किसानहरू उत्साहित भएका छन् ।

उन्नत वा हाइब्रिड जातका गुणस्तरीय  धानको बिउको प्रयोग, अनुकूल मौसम लगायतका कारणले धान उत्पादन बढेको हो ।  जिल्लामा यस वर्ष  ३१ हजार १ सय ५८ मेट्रिकटन धान उत्पादन भएको जिल्ला कृषि ज्ञान केन्द्र लमजुङले जनाएको छ ।

गत वर्ष यहाँ २८ हजार ६ सय ४७ मेट्रिकटन धान उत्पादन भएको थियो । गत वर्षको तुलनामा २ हजार ५ सय ११ मेट्रिकटन धान उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र कृषि प्रसार अधिकृत सरोज थापाले जानकारीले बताए ।

उनका अनुसार-गुणस्तरीय र उन्नत जातका बीउको प्रयोग, अनुकूल मौसम, मलको उपलब्धता लगायतका  कारण धान उत्पादन बढेको हो । ‘केही स्थानामा धान पसाउने बेला रोग, कीराको समस्या देखिए पनि समग्र जिल्ला भर उत्पादन बढेको छ ।’ – थापाले भने ।  किसानले उन्नत जातको बीउको प्रयोग गर्नु, यस वर्ष प्रयाप्त सिँचाइ, आधुनिक प्रविधिको प्रयोग लगायत कारणले उत्पादनमा वृद्धि आएको  थापाको भनाइ छ।

यस वर्ष जिल्लामा ९ हजार ३ सय १ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको छ ।  केन्द्रका अनुसार आ.व.२०७९/८० मा ३० हजार ९ सय ८६ मेट्रिकटन, आ.व. २०७८/७९ मा ३० हजार ६ सय ९८ मेट्रिकटन, आ.व. २०७७/७८ मा ४४ हजार ४ सय २५ मेट्रिकटन, आ.व.२०७६/७७ मा ४४ हजार १ सय ५५ मेट्रिकटन, आ.व. २०७५/७६ मा ४४ हजार ५ सय ४५ मेट्रिकटन आ.व. २०७४/७५ मा ४३ हजार ८ सय ३० मेट्रिकटन धान उत्पादन भएको थियो ।

जिल्लामा साबित्री, रामधान, सुक्खा-१, सुक्खा-२, सुक्खा-३, लोकतन्त्र, सुनौलो सुगन्ध जस्ता उन्नत जातका धानका बिउको प्रयोग गरिएको थियो ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button