• विजय अधिकारी (संवाददाता ) २ पुस २०८१ बुधवार । लमजुङको सुन्दरबजार नगरपालिका वडा नम्बर-९,भोटेवडारमा रहेको चण्डिका सुनचाँदी पसलबाट ठूलो मात्रामा सुन चोरेर एक भारतीय नागरिक फरार भएका छन् ।

लमजुङको सुन्दरबजारमा विगत केही बर्ष अघि देखि सुन गाल्ने काम गर्दै आएका भारतको महाराष्ट्र घर भएका दीपक झाडगढले झण्डै ५० तोला सुन चोरी गरेको चण्डिका सुनचाँदी पसलका प्रोपाइटर दिपेन्द्र सुवर्णकारले बताए । उनका अनुसार- सोमबार उनले आफुसंग रहेको सुन गाल्नका लागि ती भारतीय नागरिकलाई दिएका थिए । ती भारतीयले सुन्दरबजार ६ मा रहेको आफ्नो पसलमा लगेर सुन गालेर ल्याएर सुवर्णकारलाई दिने गर्दै आएका थिए ।
तर गालेको सुन राम्रो नभएको कारण पुन: सुन गाल्नु पर्ने बताए पछि सुवर्णकार हिंजो बिहान करीब ७ बजे तिर सुन गाल्नका लागि उनी आफै दीपकको पसलमा गएका थिए । उनकै अगाडि सुन गाल्ने काम भएको थियो । सुन गाल्ने क्रम चलिरहँदा उनी औषधि खान लागेको बेला ती भारतीय नागरिकले सुन चोरेर फरार भएको सुवर्णकारले जानकारी दिए ।
सुवर्णकार भन्छन- ‘सुन गाल्दा म पनि संगै गएको थिए । बिहान ८ बजेतिर उसले सुन गाल्नका लागि भट्टीमा हाल्यो । मेरो औषधी खाने बेला भएको थियो । खाली पेटमा औषधि खान नहुने भएकाले घरबाटै अण्डा लिएर गएको थिएँ । अण्डा खायर औसधि खाई हेर्दा त उ सुन चोरेर भागी सकेछ ।’
जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले ५० तोला सुन चोरी भएको भन्ने रिपोर्ट कार्यालयमा आएको बताए । प्रहरी नायब उपरीक्षक श्रीवास्तवले सूचना पाएपछि निजको खोज तलास भइरहेको बताए । ‘उ जान सक्ने सम्भावित सबै ठाउँमा सूचना भइसकेको छ,छिटै पक्राउ गर्छाैं।’- उनले भने ।


























