• विजय अधिकारी (संवाददाता ) प्रहार समाचार । लमजुङ , १३ पुस २०८१ शनिवार । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को संगठन विभागमा लमजुङका नेता धर्म केसी चयन भएका छन्। रास्वपाको सचिवालय बैठकले केन्द्रीय विभागको सदस्यमा नेता केसीलाई मनोनयन संगै रुपन्देहीका गोपाल घिमिरे र सिराहाका डा. विमल तिवारीलाई मनोनित गरिएको प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

के.सी.लाई पार्टीले सो जिम्मेवारी पुस १२ गते शुक्रबार दिएको हो। उन यसअघि लमजुङको जिल्ला संयोजक थिए । उनले २०७९ सालको निर्वाचनमा लमजुङ बाट उम्मेदवार समेत बनेका थिए । सो विज्ञप्ति अनुसार अनुशासन आयोगमा पनि दुई जना सदस्य थप गरिएको छ । जसमा नवलपरासीका कमलप्रसाद पोखरेल र ताप्लेजुङका हरिश्चन्द्र भट्टराई रहेका छन्। उनिहरू दुवै अधिवक्ता हुन् ।

पार्टी कार्यालय वनस्थलीमा बसेको बैठकले समसामयिक राजनीति, केन्द्रीय विभागमा सदस्यहरू मनोनयन,केन्द्रीय समिति बैठक तयारी लगायतका विषयमा छलफल भइरहेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार-महामन्त्री कविन्द्र बुर्लाकोटीले ६० जिल्लामा भेला सम्पन्न भएको जानकारी बैठकमा गराएका छन् ।
जिल्ला भेलाका लागि १२ जिल्लामा भेलाका मिति तय गरिएको पार्टीको निर्वाचन आयोगका सचिव भुमिनन्द बरालले बताए । उनका अनुसार-हिमाली जिल्ला मध्ये पाँच स्थानमा भने जाडोको समयमा भेला सम्भव नभएकाले फागुनमा मात्र हुने जानकारी दिदै करिब चार सय वडामा भेला सकिएको बताए ।
अहिले बनेको अधिवेशनका लागि तदर्थ समिति हो । भेला सकिएका ठाउँको नयाँ नेतृत्वमा धेरै पुरानै अनुहार आएको बरालले जानकारी दिए । पार्टी सभापति रवि लामिछानेको राजनीतिक प्रतिशोध पूर्ण पक्राउका कारणले पूर्व निर्धारित कार्यतालिका प्रभावित भएको रास्वपाले जनाएको छ । सभापति हिरासतमा हुँदा डेढ महिना कार्यतालिकामा असर पुगेको बरालको भनाइ छ । बैठकले आउँदो बैशाख अन्तिम साता राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनको कार्यतालिका सार्वजनिक गरिसकेको छ ।
























