• विजय अधिकारी । ( संवाददात ) प्रहार समाचार । लमजुङ, ११ पुस २०८१ बिहीवार । लमजुङको सुन्दरबजार नगरपालिकाको आयोजनामा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुन्दरबजार नगरपालिका वडा नं.-५,स्थित विद्याज्योति मा.वि.को संयोजनमा आज पुस ११ गते बिहिबार देखि सुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन गर्दै सुन्दरबजार नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद कोईरालाले शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्य भएको बताए । सुन्दरबजार नगरपालिकाका विद्यार्थीहरुलाई जिल्ला,प्रदेश र राष्ट्रिय स्तरमा समेत छनौट हुने गरी अनुशासित भएर खेलको प्रदर्शन गर्न आग्रह गर्दै राष्ट्रिय स्तरको प्रतियोगिता जितेर आउन मेयर कोइरालाले शुभकामना समेत दिएका छन्।

प्रतियोगिताको संयोजन गरिरहेको विद्याज्योति मा.वि.विद्यार्थीहरुले उद्घाटन कार्यक्रमको अबसरमा स्वागत नृत्यको साथै पिटी प्रदर्शन गरेका विद्यालयका शिक्षक युवराज खनालले प्रहार समाचारलाई जानकारी दिए ।

यस अघि संचालन भएका रनिङ शिल्ड प्रतियोगितामा लगातार चार पटक सम्म भक्ति नमुना मा.वि.भोटेवडारले जितेको थियो भने सुरु दिन आज भएका खेलमा पनि भक्ति नमुना मा.वि.अग्रस्थानमा रहेको छ ।

सुन्दरबजार नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख ठाकुर जि तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा सुन्दरबजार नगरपालिकाको उपमेयर भवानी के.सी.,वडा नं.-५,का वडा अध्यक्ष श्रीकाजी गुरुङ,कार्यपालिका सदस्यहरु,विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिकक्षहरु,प्रतियोगितामा सहभागी विधार्थी लगायत अभिभावकहरु लगायतको उपस्थिती रहेको थियो । प्रतियोगिताको समापन शनिबार हुने बताइएको छ ।

























