हेडलाईनसमाचारगण्डकीनगरपालिका /गाउँपालिकाखेलकुद

२२औं सचिन स्मृति खुल्ला दौड प्रतियोगिता पुस १३ गते  हुने

प्रहार समाचार । तनहुँ ११ पुस २०८१ बिहीवार । रोटर्‍याक्ट क्लव अफ दमौलीले यसवर्ष पनि २२औं सचिन स्मृति खुल्ला दौड प्रतियोगिता गर्ने भएको छ । क्लवले हरेक वर्ष आयोजना गर्दै आएको खुल्ला दौड प्रतियोगिता यस वर्ष यहि पुस १३ गते गरिने क्लवले जनाएको छ ।

प्रतियोगितामा सय बढि  धावकहरुको सहभागिता रहने क्लबका अध्यक्ष रवि अधिकारीले जानकारी दिए । उक्त दिन २ वटा एम्बुलेन्स, २ वटा बस, सुरक्षा निकाय र ट्राफिक प्रहरीको भ्यान धावकसँग सँगै हुने कार्यक्रमका संयोजक किरण श्रेष्ठले बताए ।

धावकहरुको सहजताका लागि आयोजकले उपलब्ध गराएको नम्बरमा फोन मार्फत पनि नाम दर्ता गर्ने सुविधा समेत रहेको उनले जानकारी दिए । स्थानीय तथा नयाँ धावकहरुलाई प्रोत्साहन गर्न प्रतियोगितामामा कुनै पनि विभागीय धावकलाई सहभागी नगराउने निर्णय गरिएको संंयोजक श्रेष्ठले बताए ।

दमौलीदेखि छाब्दीसम्म ९ किलोमिटरको उक्त दौड प्रतियोगिता हुने क्लबले जनाएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने धावकहरुलाई क्रमशः १५ हजार ५ सय, १२ हजार ५ सय र ८ हजार ५ सय नगदका साथै ट्रफि, मेडल र प्रमाणपत्र उपलब्ध गराइने कार्यक्रम संयोजक श्रेष्ठ जानकारी दिए । दमौलीको अनसन चौतारीबाट सफा सडक, पृथ्वी राजमार्ग, गल्बुवेसी, भादगाउँ हुँदै छाब्दी बाराहीमा पुगेर दौडको समापन हुने क्लबले जनाएको छ ।

उक्त प्रतियोगितामा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, भूपू सैनिक क्लब, भारतीय सैनिकमा आबद्ध व्यक्तिहरुलाई सहभागी नगराइने क्लबले जनाएको छ । महर्षि वेदव्यासको जन्मस्थल दमौली स्थित व्यास गुफा र धार्मिक पर्यटकीय स्थल छाब्दी बाराही बिचको सम्बन्ध सुदृढ बनाई पर्यटक प्रबद्र्धन गर्ने उद्देश्यले दौड प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष अधिकारीले बताए ।

दौड प्रतियोगिताको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले उद्घाटन गर्ने छन । क्लवको संस्थापक सहसचिव सचिन कुमार श्रेष्ठको स्मृतिमा क्लवले हरेक वर्ष देशव्यापी रक्तदान संगै दौड प्रतियोगिता आयोजना गर्दै आएको छ ।

भारतको कोलकातामा क्लबको कार्यक्रममा सहभागी हुन जाने क्रममा सवारी दुर्घटनामा परी ज्यान गुमाएका क्लबका संस्थापक सहसचिव सचिन कुमार श्रेष्ठको स्मृतिमा क्लबले सन् २००३ देखि हरेक वर्ष दौड प्रतियोगिता आयोजना गर्दै आएको छ ।

छाब्दी बाराही मन्दिरको प्रचारप्रसारमा समेत दौड प्रतियोगिताले योगदान गरेको क्लबले विश्वास लिएको छ । केही वर्षअघि आदिकवि भानुभक्त आचार्य र घासीको महिमासँग जोडिएको ऐतिहासिक स्थान घासीकुवाँ सम्म दौड गर्दै आएको क्लबले विगत ५ वर्ष यता तनहुँकै प्रसिद्ध धार्मिक स्थल छाब्दी वाराही मन्दिरसम्म दौड आयोजना गर्दै आएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button