हेडलाईनसमाचारभानुगण्डकीसाहित्यविजनेसमनोरञ्जन

भोलिबाट सञ्चालन हुने प्रथम भानुनगर महोत्सवको तयारी पूरा

प्रहार समाचार । तनहुँ, ८ पुस २०८१ सोमवार । राष्ट्रिय विभूति आदिकवि भानुभक्तको नाम बाट नामाकरण गरिएको भानु नगरपालिकामा भोलि ९ गते मंगलवार देखि सञ्चालन हुने प्रथम भानुनगर महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ ।

भानु नगर उद्योग वाणिज्य संघको आयोजना तथा भानु नगरपालिकाको  प्रबद्र्धकमा ‘कला, साहित्य शिक्षा र पर्यटन कृषि व्यापार उद्योग भानुको पहिचान’  भन्ने मूल नाराका साथ महोत्सव सञ्चालन गरिदैछ । महोत्सवले नेपाली साहित्यका धरोहर आदिकवि भानुभक्त आचार्यको जन्मथलोको प्रवद्र्धनमा टेवा पुग्ने विश्वास आयोजकले गरेको छ ।

महोत्सवको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले  समुद्घाटन गर्ने कार्यक्रम तय भएको  आयोजकले जानकारी दिएका छन्।
महोत्सवले भानुको जन्मथलो चुँदी रम्घाको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने भानु नगर उद्योग वाणिज्य संघका अध्यक्ष एवं महोत्सवका संयोजक कृष्णकुमार श्रेष्ठले बताए ।

भानु नगरपालिका क्षेत्रको आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको अध्यक्ष श्रेष्ठले बताए । महोत्सवमा साना तथा घरेलु उत्पादनहरुलाई विशेष प्राथमिकता दिइने छ।


महोत्सवमा कृषि प्रदर्शनी, सांस्कृतिक प्रदर्शनी, औद्योगिक लगायतका प्रदर्शनीका लागि १२० वटा स्टलहरु रहेको संघका महासचिब कृष्ण कोईरालाले जानकारी दिंदै  एक लाख भन्दा बढी पर्यटकले महोत्सव अवलोकन गर्ने अनुमान गरिएको बताए ।

यस्ता मेला महोत्सवले स्थानीयस्तरमा उत्पादित कृषि उपज र स्थानीय कलाकारको कला संरक्षणमा सहयोग पुग्नुका साथै आर्थिक कारोवारमा चहलपहल हुने भानुका नगरप्रमुख आनन्द त्रिपाठीको भनाइ रहेको छ।
आदिकवि भानुभक्त आचार्यको जन्मस्थल चुँदीरम्घालाई भाषिकधामको रुपमा विकास गर्न नगरपालिकाले पहलकदमी गर्दै आएको नगर प्रमुख त्रिपाठीले बताए । महोत्सवबाट भएको आम्दानीले नगर उद्योग वाणिज्य संघको अधूरो भवन निर्माणमा खर्च गरिने बताइएको छ । महोत्सव पौष १९ गते सम्म संचालन हुने छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button