प्रहार समाचार । तनहुँ, ५ पुस २०८१ शुक्रवार । तनहुँको बन्दीपुर गाउँपालिका वडा नं ६ खहरेटारमा रहेको मिलिजुली युवा क्लबको आयोजनामा यही पुष १५ गतेबाट १८ गतेसम्म सातौं मिलिजुली कप २०८१ हुने भएको छ।

‘नेपाली राष्ट्रिय खेल भलिबलको जगेना गरौं, गाउँ गाउँबाट टोलटोलबाट खेलाडी उत्पादन गरौँ’ भन्ने नाराका साथ सातौं वार्षिक उत्सवमा खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता तथा तमु ल्होसार साँस्कृतिक कार्यक्रम आयोजना गरिएको क्लबका संस्थापक अध्यक्ष सिद्धान्त गर्जा मगरले बताए ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ भने दोस्रो हुने टिमले नगद ६० हजार सहित ट्रफी ,मेडल र प्रमाण पत्र, तृतीय हुने टिमले नगद ४० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने गरिने क्लबका अध्यक्ष राम बहादुर गुरुङ्गले बताए ।

यसै गरि सान्त्वना हुने टिमले नगद १० हजार सहित प्रमाणपत्र प्राप्त गर्ने छ । उक्त प्रतियोगितामा भाग लिन दर्ता शुल्क ६ हजार तोकिएको छ भने पुस १० गतेबाट १५ गते सम्म टिम दर्ता गर्न सकिने क्लबका सचिव जित बहादुर थापाले जानकारी दिए ।
























