प्रहार समाचार । तनहुँ, ४ पुस २०८१ बिहीवार । तनहुँको व्यास नगरपालिका वडा नम्बर ५ साँगे, नेपालटारमा रहेको जनजुक्त शाही माध्यमिक विद्यालयले स्वर्ण जयन्तीको तयारीलाई तिभ्रताकासाथ अगाडी बढाएको छ।

यही पुष २१ गतेदेखि सप्ताहव्यापी रूपमा कार्यक्रम सञ्चालन गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अचुतराज काफ्लेले जानकारी दिए। ‘स्वर्ण जयन्ति मनाउने काम तिभ्रताकासाथ द्रुत गतिमा अगाडी बढेको छ ‘ – अध्यक्ष काफ्लेले भने ।

कार्यक्रम अनुसार पुष २६ गते पूर्व विद्यार्थी पुनर्मिलन र २७ गते स्वर्ण जयन्ती स्मारक उद्घाटन, स्मारिका विमोचन तथा अन्य विविध कार्यक्रम आयोजना गरिने भएको विद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र न्यौपानेले जानकारी दिए।

विद्यालयले देश विदेशमा रहने पूर्व विद्यार्थी, शिक्षक, अभिभावक, जग्गादाता, अक्षय कोष स्थापनाकर्ता लगायत विद्यालयसँग सम्बन्धित सबैमा उपस्थितका लागि अनुरोध गरेको प्रचार प्रसार समितिका संयोजक एवं शिक्षक प्रतिनिधि ऋषिराम वाग्लेले जानकारी दिए।
विद्यालयले नयाँ शैक्षिक सत्रबाट मन्टेश्वरी कक्षा तथा प्राविधिक शिक्षा लगायत शैक्षिक सुधार ल्याउने लगायतका उद्देश्य राखेको विद्यालय व्यवस्थापन समितिका सदस्य एवं आर्थिक समितिका संयोजक भाग्यशालि ढुङ्गानाले बताए ।

उनका अनुसार स्वर्ण जयन्ती कार्यक्रमका लागि आज सम्म २ लाख ८१ हजार २ सय ४५ रुपैया नगद बैंक दाखिला गरिएको छ ।
























