प्रहार समाचार । तनहुँ, २५ कात्तिक २०८१ आइतवार ।जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको एक सय १०औँ जन्मजयन्ती का अवसरमा गणेशमान सिंहले देखाएको त्याग र उच्च साहसलाई अहिले पनि उत्तिकै सम्झिइएको छ।

गणेशमान सिंह फाउण्डेसन गण्डकी प्रदेश, पोखरा र गणेशमान अध्ययन एवं स्मारक पार्क संरक्षण समिति दमौली, तनहुँद्वारा व्यास नगरपालिका–२ गणेशमानचोकमा गरिएको सिंहको ११० औं जन्मजयन्ती कार्यक्रममा हिजो लौह पुरुष सिंहबाट धेरै कुरा सिक्नुपर्ने वक्ताहरुले जोड दिए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य ध्रुव वाग्लेले गणेशमानले देखाएको मार्गमा हिँडेर नेपाली कांग्रेस पार्टीलाई बलियो बनाउनुपर्ने बताउँदै अगाडी भने – ‘गणेशमानबाट राजनीति निष्ठा, समर्पण र इमान जगाउनको लागि कर्मजगाउने प्रेरणा जगाउन जरुरी छ ।’ सभ्रान्त कुलिन परिवारमा जन्मिएर पनि आफ्नो सुख सयल र वैभवलाई छोडेर त्यागको राजनीतिक गरेको बारे युवा पुस्तालाई सन्देश दिन आवश्यक छ। ‘
नेपाली कांग्रेस तनहुँका सभापति तथा गण्डकी प्रदेश सभा सदस्य जीतप्रकाश आलेले गणेशमान सिंहलाई वर्षको एक दिन मात्रै हैन सधै सम्झिनु पर्ने बताउँदै श्रेष्ठले देखाएको मार्गमा सधैं हिड्नु पर्नेमा जोड दिए ।

कार्यक्रम नेपाली कांग्रेस गण्डकी प्रदेशका उपाध्यक्ष तथा पूर्वमन्त्री मेखलाल श्रेष्ठले पदभन्दा पार्टीलाई ठूलो ठानेर अघि बढ्न जरुरी रहेको बताए । गणेशमान सिंह फाउण्डेसन गण्डकी प्रदेशका अध्यक्ष दुर्गाप्रसाद तिमिल्सिनाले गणेशमानले देखाएको सुशासनको बाटोमा हिँडे जनता सुखी र देश समृद्ध हुने बताए ।
कार्यक्रममा समितिका सचिव समुन्द्र गोदारलगायतले गणेशमानलाई एकदिन मात्रै सम्झिएर नहुने र प्रत्येक पल सम्झिएर उहाँको पाइला पछ्याउँदै अघि बढ्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा अधिकांश वक्ताहरुले सिंहले राजनीतिलाई सत्ता र शक्तिको साधन नभएको भन्दै राजाले प्रधानमन्त्री बन्नुभन्दा समेत अस्वीकार गरेको स्मरण गरेका थिए ।

२०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्र शाहले प्रधानमन्त्री बन्न गरेको आग्रहमा गणेशमान सिंहले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमूना प्रस्तुत गरेका थिए ।

सिंहले २०४६ सालमा आफूलाई सर्वमान्य नेताका रुपमा स्थापित गर्न सफल भए । गणेशमानको छवि त्यसबेला सर्वमान्यका लागि पुँजी बनेको थियो । गणेशमानले विश्वासघात गर्दैनन् भन्नेमा कांग्रेसका मात्र नभई कम्युनिष्ट पार्टीमा समेत विश्वास थियो ।
























