प्रहार समाचार । तनहुँ , २ २४ कात्तिक २०८१ शनिवार । २०४६ सालमा भएको जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको एक सय १०औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी देश भर मनाइँदैछ ।

नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रूपमा रहेका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल भएका थिए । विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्र शाहले प्रधानमन्त्री बन्न गरेको आग्रहमा उनले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमूना प्रस्तुत गरेका थिए ।
सर्वोच्च नेता सिंहसँग नजिक भएर काम गरेका पत्रकार माथवरसिंह बस्नेत १९९७ सालमा प्रजातन्त्रका लागि घरपरिवार त्यागेर उनले राजनीति शुरू गरेको स्मरण गर्छन् । त्यागबाट राजनीतिक जीवन शुरू गरेका सिंहले १९९७ सालदेखि २०४६ सालसम्म आन्दोलन गरेर प्रजातन्त्रका लागि योगदान गरेका थिए । यो समयमा नियतिले नै उनलाई निमित्त बनाएको उनी बताउँछन् ।
सिंहले २०४६ सालमा आफूलाई सर्वमान्य नेताका रुपमा स्थापित गर्न सफल भए । गणेशमानको छवि त्यसबेला सर्वमान्यका लागि पुँजी बनेको थियो । गणेशमानले विश्वासघात गर्दैनन् भन्नेमा कांग्रेसका मात्र नभई कम्युनिष्ट पार्टीमा समेत विश्वास थियो ।
गणेशमान जयन्तीका अवसरमा फाउन्डेसनले जिल्ला जिल्लामा कार्यक्रम गर्न लागेको जनाइएको छ । यस अवसरमा आज भक्तपुरको कटुञ्जेस्थित गणेशमान सिंह वाटिकामा मानवअधिवारवादी नेता प्रा कपिल श्रेष्ठलाई विशेष सम्मान गर्न लागिएको छ । शोभाभगवतीस्थित गणेशमान सिंहको प्रतिमामा माल्र्यापणसहित विशेष कार्यक्रम गर्न लागिएको हो ।
विसं १९७२ कात्तिक २४ गते काठमाडौंको क्षेत्रपाटीमा जन्मिएका नेता सिंहको २०५४ असोज २ गते निधन भएको हो । काठमाडौंको खानदानी परिवारमा जन्मिएका सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक दल प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाएका थिए ।
राणाशासन अन्त्य गर्ने अभियानमा लागेपछि उनीलगायत नेतालाई तत्कालीन सरकारले जेल हाल्यो । विसं २००७ अघि नै भद्रगोल जेल फोरेर भाग्न सफल भएका जोशिला तन्नेरी गणेशमान प्रवास जानुअघि नै तत्कालीन राणा हटाऊ आन्दोलनमा सक्रिय भएका थिए ।
जेलबाट भागेर भारतमा पुगी अर्का नेता बिपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित गरे। केही सहयोगीका साथ २००३ सालमा स्थापित नेपाली राष्ट्रिय कांग्रेसलाई आजीवन जुझारु नेतृत्व दिन पनि गणेशमानको उल्लेखनीय भूमिका छ ।
प्रजातन्त्र स्थापनाका लागि भएको २००७ सालको क्रान्तिका एक अगुवाका रूपमा उनले वीरगञ्ज मोर्चामा सशस्त्र सङ्घर्ष गरे । देशमा प्रजातन्त्र बहाली र पुनःबहालीका लागि समर्पित सिंह सैद्धान्तिक हिसाबले बिपीका अनुयायी र सबैभन्दा ठूला समर्थकका रूपमा रहे । नेपाली कांग्रेसलाई लोकप्रिय बनाउन सदा क्रियाशील रहे ।
विसं २०१५ मा पहिलो निर्वाचन भएपछि बनेको सरकारमा वरिष्ठ मन्त्री भएका गणेशमान २०१७ सालमा प्रजातन्त्र खोसिएपछि आठ वर्ष निरन्तर पहिले सिंहदरबार र त्यसपछि सुन्दरीजल बन्दीगृहमा कारावास जीवन बिताए । विसं २०२५ मा बिपीसँगै सुन्दरीजल बन्दीगृहबाट रिहा भएपछि उनले प्रवासमा राजनीतिक सङ्गठन विस्तार गरेका हुन् ।
विसं २०३३ मा बिपीसँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केर तत्कालीन पञ्चायती व्यवस्थाका विरुद्ध सक्रिय रहे । – साभार लोकान्तर अनलाईनबाट
























