प्रहार समाचार । काठमाडौँ, २१ कात्तिक २०८१ बुधवार । नेपालले थाइल्याण्डलाई पराजित गर्दै आईसीसी महिला यू–१९ विश्वकपको एसिया छनोटमा प्रतियोगितामा ६७ रनको फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगिताको उद्घाटन खेलमा सुखद् शुरूआत गरेको छ ।

संयुक्त अरब इमिरेट्स (यूएई)को द सेभेन क्रिकेट रङ्गशालामा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको एक सय तीन रनको लक्ष्य पछ्याएको थाइल्यान्ड ११ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ३५ रनमै समेटियो । थाइल्याण्डका लागि अपिसरा सुवान्चोरथीले १३ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
नेपालका लागि रचनाकुमारी चौधरी एक्लैले चार विकेट लिइन् भने कप्तान पूजा महतो र रिया शर्माले समान २/२ विकेट लिए । त्यसैगरी करिश्मा गुरुङ र मनीषाकुमारी उपाध्यायले समान १/१ विकेट लिए ।

यही कात्तिक २९ गतेसम्म चल्ने उक्त प्रतियोगितामा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् । सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली विश्वकपमा छनोट हुनेछ । नेपालले भोलि आफ्नो दोस्रो खेल कुवेतसँग खेल्नेछ । विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष मलेसियामा आयोजना हुँदैछ ।
























