प्रहार समाचार । काठमाडौँ २१ कात्तिक २०८१ बुधवार । काठमाडौँ महानगरपालिकाले महानगरका विभिन्न आठ ठाउँमा यस बर्षको छठ पर्व मनाउन तयारी अन्तिम चरणमा पुऱ्याएको छ। महानगर प्रमुख बालेन्द्र शाह बालेनले आफ्नो आधिकारिक फेसबुक पेज मार्फत उक्त कुराको जानकारी गराएका हुन् ।

मेयर बालेनले लेखेका छन् – ‘ तिहारको समापनसँगै छठ पर्वको हर्षेल्लाष शुरू भएको छ । छठ पर्व सूर्यदेवको अनुष्ठान हो । हरेक मानवले जन्मदेखि मृत्युपर्यन्त देख्ने विशालकाय शक्ति अनि उर्जा केन्द्र सूर्यसँगको मानवको सहअस्तित्वसँगै सांस्कृतिक पृष्ठभूमि पनि जोडिएको छ छठसँग ।
तराईको केहि क्षेत्र केन्द्रित मनाइने छठ पर्व अहिले आएर हिमाल, पहाड अनि तराई सर्वत्र प्रचलित हुँदै आएको छ । सद्भाव अनि दातृत्वको प्रतीक यस पर्वलाई बडो हर्ष अनि उल्लासका साथ नदी, तालतलैया र पोखरीको किनारामा श्रृङ्गारीएर तयार पारिएका घाटहरू, केराका थम्बा, झिलिमिली बत्तीबिच अस्ताउँदो र उदाउँदो दुवै सूर्यको लालीकिरणलाई दूधको अर्घ्य दिएर मनाइन्छ ।
यी सबै आस्था र संस्कारहरूलाई सम्मान प्रकट गर्दै हामीले छठ पर्व व्यवस्थापनका लागि निम्न ८ स्थानमा काम गर्दै आएका छौँ ।
- गौरी घाट, वडा ८ ।
- कोटेश्वर दोभान, वडा ३२ ।
- कमल पोखरी, वडा १ ।
- वंशीघाट, वडा ११ ।
- बालाजु बाइसधारा, वडा १६ ।
- धौखेल खोला, वडा १३ ।
- कुमारी क्लब, वडा १४ ।
- भुवनेश्वरी मन्दिर, वडा १४ ।
काठमाडौं महानगरपालिकाका माथि उल्लेखित स्थानमा छठ पर्व मनाउनका लागि पोखरी सरसफाइ, पोखरी वरिपरि रङ्गरोगन र छठ पर्व स्थल व्यवस्थापनको कामलाई द्रुतता दिएका छौँ । यसका साथै सम्बन्धित वडाबाट पनि प्रत्यक्ष रूपमा काम गरिरहनु भएको छ ।’ मेयर बालेनले छठ पर्वको शुभकामना दिंदै अन्त्यमा लेखेका छन् ।

























