प्रहार समाचार । काठमाडौ, १७ कात्तिक २०८१ शनिवार । आजबाट नेपाल संवत् ११४५ सुरु भएको छ। नेवार समुदायले नयाँ वर्षका रूपमा देशभर विविध कार्यक्रमका साथ नेपाल संवत् मनाउँदै छन् ।

राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को शुरूआत गराएका थिए । पृथ्वीनारायण शाहको शासनकालसम्म नेपाल संवत्ले राष्ट्रिय संवत्को मान्यता पाएको थियो ।
विसं २००७ मा प्रजातन्त्रको स्थापना भएदेखि नै नेपाल संवत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको थियो । नेपाल संवत्लाई नयाँ वर्षका रुपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्य स्थानमा विशेष रुपमा मनाउने गरिन्छ । काठमाडौंमा कात्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बहीखाता शुरूआत गर्ने परम्परासमेत अझै छ ।
गरिब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए । विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए।

























