प्रहार समाचार । तनहुँ ११ असोज २०८१ शुक्रबार । तनहुँको देवघाट गाउँपालिकाका ८६ प्रतिशत नागरिकले सुरक्षित खानेपानीको प्रयोग गर्न पाएका छन्।

पालिकाले एक घर एक धारा अभियान सञ्चालन गरे सङ्गै हाल सम्म ८६ प्रतिशत जनताले घर घरमा सुरक्षित पिउने पानी उपभोग गर्न पाएको पालिकाका अध्यक्ष तिलबहादुर थापाले बताए ।
स्वच्छ सुरक्षित र गुणस्तरीय खानेपानी तथा सरसफाई सेवामा पहुँच प्राप्त गर्ने नागरिकको मौलिक अधिकारको सम्मान संरक्षण र परिपूर्ति गरी खानेपानी तथा सरसफाई उपभोक्ता लगायतमा संगठित संस्थाहरुका माध्यमबाट सहज र दिगो रुपमा स्वच्छता गुणस्तरीय खानेपानी उपलब्ध गराउन गाउँ पालिका लागि परेको खानेपानी सरसफाई तथा स्वच्छता शाखाका कार्यक्रम अधिकृत कृष्णराज पन्तले प्रहार समाचारलाई बताए । खानेपानी सङ्गै सरसफाई र स्वच्छता सम्बन्धी सेवा उपलब्ध गराउन पालिका लागि परेको र गत वर्ष मात्र देवघाट गाउँपालिकामा ५ सय ६३ घरधुरीका जनताहरु यसबाट लाभामित हुन पुगेकाे कार्यक्रम अधिकृत पन्तले जानकारी दिए ।
देवघाट गाउँपालिकाका सबै घरहरू तथा विद्यालयहरूमा चर्पीको व्यवस्था भए सङ्गै सरसफाईमा समेत उल्लेख्य सुधार आएको पालिकाले जनाएको छ। एक घर एक धारा जडान गर्न बाँकी रहेका १४ प्रतिशत जनताहरुको घरहरुमा पनि क्रमश स्वच्छ तथा गुणस्तरीय खानेपानी सुविधा उपलब्ध गराइने पालिकाले जनाएको छ ।

























