प्रहार समाचार । नवलपरासी ११ असोज २०८१ शुक्रबार । राष्ट्रपति रामचन्द्र पौडेलले नदी तरितराउको अभावमा बर्षोदेखि सुस्ता क्षेत्रका नागरिकले आफ्नो दैनिक जीवन सञ्चालनका लागि डुंगाको भर परी जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्थाबाट अब समाधान भएको बताएका छन्।

शहरी विकास मन्त्रालय, स्थानीय पूर्वाधार विभाग, सस्पेन्सन बृज डिभिजनद्वारा निर्मित त्रिवेणी महेशपुर (सुस्ता) मल्टिस्पान झोलुङ्गे पुलको हिंजो उद्घघाटन गर्दै यो पुल निर्माणले उक्त समस्याको समाधान गरेकोमा खुसी पनि व्यक्त गरे । डबल स्प्यानको सो झाेलुङगे पुल १ हजार ५ सय ७१ मिटर लामो छ।
राष्ट्रपति पौडेलले झोलुङ्गेपुलको निर्माणले सुस्ता क्षेत्रमा उत्पादन हुने कृषि उपजले उपयुक्त बजार पाउने र यहाँका बासिन्दालाई आवश्यक पर्ने बस्तु तथा सेवाहरूको सहज पहुँच हुने अवस्था सिर्जना गरेको उल्लेख गर्दै सुस्ता क्षेत्रमा उपलब्ध नभएका शैक्षिक तथा स्वास्थ्य सेवाको सरल र सहज पहुँचमा योगदान पुग्ने विश्वास समेत व्यक्त गरे । पुलको अभावमा सरकारी सेवा लिन २–३ दिनको समय लगाएर जोखिमपूर्ण यात्रा गरी गाउँपालिकाको केन्द्र तथा सदरमुकाम पुग्नुपर्ने अवस्थाको अन्त्य भई अत्यावश्यक सेवा छोटो समयमै लिन सकिने अवस्था सिर्जना भएको समेत राष्ट्रपति पौडेलले बताए ।

राष्ट्रपति पौडेलले हिन्दु धर्मावलम्वीहरूको पवित्र तपोभूमिको रुपमा रहेको त्रिवेणी धाम नजिकै रहेको नारायणी नदीमाथि निर्माण भएको नेपालकै लामो यस झोलुङ्गे पुलको निर्माणले यस क्षेत्रमा पर्यटकलाई समेत आकर्षित गर्ने सम्भावना बोकेको बताउँंदै पुलको निर्माणले नेपालकै लामो झोलुङ्गे पुल भएको जिल्लाको रुपमा यस जिल्ला र क्षेत्रको नयाँ परिचय निर्माण भएको उल्लेख गरे ।

























