प्रहार समाचार । तनहुँ १० असोज २०८१ बुधबार । मनसुनी वायुको प्रभाव रहेको कारणमनसुन सक्रिय भएपछि जल तथा मौसम विज्ञान विभागले आज ५६ जिल्लामा रेड अलर्ट जारी गरेको छ ।

‘रेड अलर्ट’ले उच्च जोखिमको सम्भावना रहेको जनाएको छ। १९ जिल्ला मध्यम जोखिममा छन् भने हिमाली दुई जिल्ला (मुगु र हुम्ला) मात्र न्यून जोखिममा छन् । विभागले ती जिल्लामा सतर्कता अपनाउनसमेत आग्रह गरेको छ ।
आज देशका विभिन्न ठाउँमा रातिदेखि नै पानी परिरहेको छ । हाल कोशी, मधेश ,लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशैभरका अधिंकांश ठाउँमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
उता कोशी, मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा आज भारी वर्षा र कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यसै गरि राति कोशी, बागमती, मधेश, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाको पूर्वाविशेष बुलेटिनमा उल्लेख छ ।
























