
आज तीज !
तीज भन्ने बित्तिकै चलचित्रको पर्दामा झै बाल्यकालको यादहरु सल्बलाउँछन। बा ले बजारबाट ल्याएको मार्किनको कपडाको ठूलो पोकाबाट आफ्नो लागि ल्याएको हेटौंडे कपडा को फ्रक सिउने काँचो कपडाको मीठो बासना सुघ्दै भोलि पल्ट बिहानै कान्छा दर्जी दाइको घरमा पुगेको याद आउँछ ! कान्छा दाइ हाम्रा बाली खाएर सिलाउने एक सिपालु सिलाइ कालिगढ थिए ! तिज , दशै उनको घरमा निकै भिड हुन्थ्यो , भनेको बेला कपडा सिलाएरै भ्याउँदैनथे ! हामी पनि नयाँ फ्रक लगाउने तिब्र रहर मा कान्छा दर्जिको घरमा लाइनमा हुन्थ्यौं ।

बल्ल तल्ल १२/ १ बजे नयाँ फ्रक लगाएर साँध पिपल चौतारीमा पुग्थ्यौँ । आमाहरु पनि आफ्ना घरमा भएका नयाँ र राम्रो चाहिँ फरिया चोलो , नौगेडी , तिलहरी , चन्द्रमा काँटा , ढुङ्ग्री मुन्द्री फुली बुलाँकी मा सजिएर आउनुहुन्थ्यो !
नव बिवाहिता दिदीहरुको बिरह व्याथाले भरिएका गितहरु दिनभरी सुनिन्थ्यो ! सबैका आ आफ्ना कथा ब्यथा र पिडालाई गीतका माध्यमले ब्यक्त गर्दा माइतिका आँखा आँसुले टिल्पिलाउँथे ! जतिसुकै पीडा व्यथा भएपनी आफ्ना पतिको दिर्घायुको कामना गर्दै सुखद भविस्यको आशा र कामना गर्दै गीत गाएको सुन्दा मेरो बाल मस्तिष्कले पनि नारी त साच्चै धर्ती नै हुन नारिको त्याग तपस्या र समर्पणलाई जव पुरुषले चिन्न सक्छन तब स्वर्ग पुग्न वा स्वर्गको अनुभूति गर्न मर्नु पर्दैन ,कुनै दोस्रो ब्रह्माण्ड खोज्नु पर्दैन ,यहि जन्ममा यहि लोकमा सबै प्रयाप्त छ !
ओहो ! म त कता पो हराएछु ……… ! त्यसपछी ………….
हामी छोरीहरु पनि आमा हजुर आमाले झै बिहानै देखि नुवाइ धुवाइ गरि व्रत बस्थ्थौँ, हजुरमा भन्नू हुन्थ्यो – ‘ नारिले व्रत राखे आफ्नो श्रीमानको आयु लामो हुन्छ रे , कन्याहरुले व्रत राखे असल , माया गर्ने पति मिल्छ रे !’ का तिनै बाणीहरु आज मेरो मानसपटल मधुर स्वरमा गुञ्जिरहेछन ! हामी पनि व्रत बस्थ्यौं साँझमा पुजा गरिसकेपछी दहि केरा खान्थ्यौँ , नाच्ने गाउँने गर्थ्यौं ! हामीहरुको पारिवारिक स्तरमा टेलिभिजन , मोवाइलको त त्यति बेला कल्पना सम्म पनि थिएन। पन्चमीमा नुवाइ धुवाइ गरि सप्तऋषिको पुजा गरिन्थ्यो !
यस्तै यस्तै हुन्थ्यो तीज !! – समाप्त –
– तनहुँ ।
























