प्रहार समाचार । काठमाडौं १५ भदौ २०८१ शनिवार । मनसुनी वायुको प्रभावले अहिले कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ।

अहिले विहानैदेखि कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।
कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षाको पूर्वानुमान छ। आज राति देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
यसैगरि आज कोशी र बागमती प्रदेशका थोरै स्थानहरुमा भारी वर्षा र एक-दुई स्थानमा धेरै भारी वर्षा हुने पनि महाशाखाले उल्लेख गरेको छ । अहिले देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको पनि जल तथा पूर्वानुमान महाशाखाले जारि गरेको नियमित बुलेटिनमा उल्लेख छ।
























