हेडलाईनसमाचारप्रदेशस्वास्थ्य

संघिय अस्पतालका बिग्रिएका स्वास्थ्य उपकरण मर्मतको जिम्मा वैज्ञानिक महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई

प्रहार समाचार । काठपाडौं ५ भदौ २०८१ बुधवार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पतालका बिग्रिएका स्वास्थ्य उपकरण मर्मतको जिम्मा वैज्ञानिक महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई दिने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको उपस्थितिमा आज मन्त्रालय र केन्द्रबीच हस्ताक्षर भएको छ । मन्त्रालयका तर्फबाट गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. मदन उपाध्याय र केन्द्रका अध्यक्ष महावीर पुनले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

अस्पतालमा खेर गइरहेका उपकरण मर्मत गर्नका लागि सघाउन मन्त्री पौडेलले केही दिन अघि पुनसँग आग्रह गरेका थिए । सो लगत्तै मन्त्रालयले पुन नेतृत्वको केन्द्रसँग औपचारिक सम्झौता गरेको हो ।

अब केन्द्रले हाल मन्त्रालयअन्तर्गगतका १७ अस्पतालमा बिग्रिएर रहेका स्वास्थ्य उपकरणको अवस्थाबारे जानकारी लिनेछ ।त्यसपश्चात मर्मत सम्भव भएका सबै उपकरणको केन्द्रका प्राविधिकहरुले मर्मत गर्नेछन् ।

हस्ताक्षर कार्यक्रममा बोल्दै मन्त्री पौडेलले अस्पतालमा मर्मत अभावमा उपयोगमा आउन नसकेका उपकरणलाई केन्द्रको सहयोगमा मर्मतपछि उपचार सेवामा सहजता आउने विश्वास व्यक्त गरे । देशको सीप प्रयोग गरेर स्वदेशमै केही गर्न खोजिरहेका वैज्ञानिकहरुको योगदानलाई यो राज्यका तर्फबाट कदर हो, मन्त्री पौडेलले भने, ‘स्वदेशी सीपमा कम खर्चमा उपकरणको मर्मत हुने आशा लिएको छु ।’

उनले केन्द्रको सहयोगमा राज्यको खेर गैरहेको सम्पत्तिको उपयोगबाट बिरामी पनि लाभान्वित हुने र उपकरण खरिदका लागि हुने खर्चसमेत कम हुने आशा गरे । केन्द्र प्रमुख पुनले राज्यले आफूहरुलाई विश्वास गरेर ठूलो जिम्मेवारी दिएको भन्दै खुशी प्रकट गरे । राज्यले हामीलाई विश्वास गरेर ठूलो जिम्मेवारी दिएको छ, उनले भने, अब हामी हाम्रै श्रोत साधन र प्राविधिकको उपयोग गरेर मर्मत गर्नेछौं ।

उनले यसले आफूहरुलाई हौसला दिएको भन्दै मन्त्री पौडेललाई धन्यवाद दिँदै भने- ‘मन्त्रीज्यूलाई कार्यसफलताको कामना छ, उनले भने, हामी पनि यहाँलाई सघाउँछौं ।’ मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले शुरुवातमा १७ वटा संघीय अस्पतालको उपकरणको अवस्थाबारे विवरण केन्द्रबाट प्राप्त भए पछि सम्बन्धित अस्पतालमै गएर केन्द्रले मर्मत थाल्ने बताए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button