प्रहार समाचार । तनहुँ ४ भदौ २०८१ मङ्गलवार । आज गाईजात्रा पर्व विभिन्न कार्यक्रमका साथ देशभर मनाइदै छ। यो पर्व प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म मनाइने गरिन्छ । तनहुँको पुरानो सदरमुकाम बन्दिपुर , डुम्रे बजार , आँबुखैरेनी, अहिलेको सदरमुकाम दमौली लगायत जिल्लाका खैरेनीटार, दुलेगौंडा , भिमाद, थर्पु बजारहरुमा विभिन्न कार्यक्रमका साथ गाईजात्रा मनाइदै छ।

दमौलीमा तनहुँसुर भिमसेन गुठी, छङ्गेली नेवा खल लगायतले दमौली बजारमा लाखे प्रदर्शन गर्दै आएका छन्। गाईजात्राकै अवसरमा आज सरकाले काठमाडौं उपत्यकमा आज सार्वजनिक बिदा दिएको छ।
एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान दिने चलन छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।
राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको ऐतिहासमा उल्लेख छ ।
प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद (राजदरबार) भएर जानुपर्ने प्रथा अहिलेसम्म पनि कायमै छ ।
भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइने प्रचलन अझै पनि कायमै रहेको छ।























