प्रहार समाचार । तनहुँ १९ साउन २०८१ शनिवार । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको २११ औं जयन्तिको अबसरमा भन्सार यूवा क्लबद्धारा आयोजि१७औँ भानु कप फुटबल प्रतियोगिता भानु नगरपालिका–१ भन्सारस्थित खेल मैदानमा आजबाट हुने भएको छ ।
तस्विर : फायल फोटो



भानुभक्त आचार्यको जन्मथलो चुँदीरम्घा लाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रचारप्रसारका लागि क्लबले प्रत्येक वर्ष फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री राजिव गुरुङ( दिपक मनाङ्गे) ले आज उद्घाटन गर्ने कार्यक्रम तय भएको क्लबका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले जानकारी दिए । उद्घाटन खेलमा साविक विजेता तनहुँको सेभेन स्टार युवा क्लब र योङ ब्वाइज एफसी चितवनबीच हुने खेल संयोजक विष्णु अधिकारीले बताए ।
प्रतियोगिता यही साउन २६ गतेसम्म सञ्चालन हुने र २४ टोलीको सहभागिता रहने क्लबका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले जानकारी दिए । नकआउट चरणमा खेलाइने सो प्रतियोगिताको विजेताले दुई लाख ५० हजार दुई सय ११ तथा उपविजेताले एक लाख २५ हजार दुई सय ११ सहित ट्रफी प्राप्त गर्नेछन् । त्यस्तै सेमिफाइनलमा पुग्ने दुई टोलीले जनही २५ हजार दुई सय ११ पुरस्कार प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई पाँच हजार दुई सय ११, उत्कृष्ट गोलरक्षकलाई पाँच हजार दुई सय ११ तथा सर्वाधिक गोलकर्तालाई पाँच हजार दुई सय ११ पुरस्कार प्रदान गरिनेछ ।
सोही अवसरमा आयोजना हुने छेलोतर्फ प्रथम हुनेलाई ६ हजार दुई सय ११ र बाघचालतर्फ प्रथम हुनेलाई ६ हजार दुई सय ११ पुरस्कार प्रदान गरिने आयोजक संस्थाले जनाएको छ ।

























