हेडलाईनसमाचारगण्डकी

हलोक्रान्तिको ७५ औं बर्ष पूरा  : लमजुङको अर्चल्यानि स्थित बाटेगरामा हलोक्रान्ती दिवस मनाइयो

• विजय अधिकारी । लमजुङ संवाददाता । १२ साउन २०८१ शनिवार । लमजुङको सुन्दरबजार नगरपालिका वडा नम्बर – ४ , अर्चल्यानिको बाटेगरामा ७५ औं हलोक्रान्ती दिवस  मनाइएको छ । २००६ साल साउन ११ गते लमजुङको साविकको दुराडाँडा गा.वि.स. ६ र हालको सुन्दरबजार नगरपालिका ४ मा रहेको अर्चल्यानिको बाटेगरामा ब्राम्हणहरुले सामुहिक रूपमा हलो जोतेका थिए ।

हलोकान्ती नेपाल तथा तोयनाथ स्मृति प्रतिस्ठानको आयोजनामा भएको कार्यक्रममा बोल्दै  सुन्दरबजार नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद कोइरालाले हलोक्रान्ती परिसरमा वृक्षारोपण गरेर कार्यक्रमको सुरुवात गर्दै  पन्डित तोयनाथ अधिकारी र खजे दुरालाई दुराडाडा क्षेत्रबाट राष्ट्रिय विभुती घोषणा गर्नआफू लागि परेको  बताउदै हलोक्रान्तिको इतिहास के हो ? त्यो खोजी गरि लमजुङमा मात्रै सिमित नभई दुराडाडाको हलोक्रान्ति पछी हलोजोत क्रान्तिको सुरुवात गरेका जिल्लाहरु समेटेर राष्ट्रिय स्तरमा यस दिवसलाई दर्ज गर्न लाग्न अनुरोध गरे ।

ऐतिहासिक थलो दुराडाडा अर्चल्यानिको बाटेगरामा ब्राम्हणहरुले हलोजोत्नु अघि ब्राम्हणहरुले हलो जोतेको इतिहास थिएन । त्यसैको सम्झनामा प्रत्येक बर्षको  साउन ११ गते दुरडाडाको अर्चल्यानिको बाटेगरामा हलोक्रान्ती दिवस मनाइने गरिन्छ ।
राणा सरकारको तानाशाही संस्कारसगै मौलाएको ब्राम्हणवाद र जातिय भेदभाव संगै हलोप्रथा अन्त्यका लागि २००६ साल साउन ११ गते पन्डित तोयनाथ अधिकारीको अगुवाईमा लेप्टिनेन्ट शेषकान्त अधिकारी , मुखिया हरिभक्त पौडेल , श्रीकान्त अधिकारी लगायत २७ जना ब्राम्हणहरुले नेपालमै पहिलो पटक ऐतिहासिक थलो दुरडाडा अर्चल्यानीको बाटेगरामा हलो जोतेका थिए ।

त्यस समयमा हलो नजोत्नेहरुले “शेषकान्त लेप्टन , हरिभक्त तिघ्रे , तोयनाथ पन्डित हलोजोती बिग्रे ” भनी नारानै लागाउने गर्थे ।
यो घटना इतिहासमा दर्ज भएपछी दुरडाडा क्षेत्रका ब्राम्हणहरुले कैयौं दु:ख पिडाहरु सहन परेको हलोक्रान्तिका जानकारहरु बताउँछन् । उनिहरुका अनुसार त्यस समयमा माइती आएका छोरी चेली घर जान पाएनन् , घर गएका बुहारीहरु माइत फिर्ता हुन पाएनन् , उमेर पुगेका युवा युवतीको २ बर्ष सम्म बिहे समेत रोकिएको जानकारहरुले बताए । अहिले हलोक्रान्तिमा सहभागी २७ जना ब्राम्हणको निधन भैसकेको छ ।


कार्यक्रममा सर्वोदय सेवाश्रमका सस्थापक कृष्णराज ओलिया , हलोक्रान्ती संरक्षण समिति तनहुँका अध्यक्ष तथा पत्रकार बाबुराम खनाल , कास्कीका हलोजोत अभियानका अगुवा मुक्तिनाथका कान्छा छोरा किरण शर्मा , मुक्तिनाथ स्मृति प्रतिस्ठानका वरिष्ठ संरक्षक मोहन थापा , प्रतिस्ठानका निवर्तमान अध्यक्ष दिपक पौडेल , साहित्यकार लक्ष्मिप्रसाद मिश्र , समाजसेवी टिकाराम घिमिरे , बिष्णुभक्त अधिकारी , नेपाली काङ्ग्रेस सुन्दर बजार ४ का वडा सभापति कृष्ण विलाश न्यौपाने , दलित अगुवा रामबहादुर वि.क. लगाएतले मन्तव्य राख्दै हलोक्रान्ती नेपाललाई राष्ट्रिय कारण गरि यसका अभियान्ताहरुलाई राष्ट्रिय विभुती घोषणा गर्नुपर्नेमा जोड दिएका थिए ।

लमजुङको दुरडाडा बाट २००६ साउन ११ गते बाट सुरु भएको हलोक्रान्ती पछी २००६ पुसमा तनहुँ , फागुनमा कास्की र धादिङ , २००७ बैशाखमा अर्घाखाँची र गोरखा साथै २००८ मा स्याङ्जामा हलोजोत्ने अभियान शुरु भएको जानकारहरु बताउँछन् ।


प्रतिस्ठानका अध्यक्ष डाक्टर लक्ष्मिकान्त पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काङ्ग्रेस सुन्दर बजार नगर समितिका अध्यक्ष प्रकाश सेढाई , वडा नम्बर ३ का वडा अध्यक्ष अमृता न्यौपाने , रामचन्द्र अधिकारी,श्रीप्रसाद अधिकारी, हलोक्रान्तिका जानकारहरु , अभियान्ताका परिवारका सदस्यहरु , स्थानीय बुद्धिजिविहरुको उपस्थिती रहेको थियो ।
    कार्यक्रमको सहजीकरण सचिव लक्ष्मिकान्त न्यौपाने गरेका थिए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button