प्रहार समाचार । काठमाडौँ ११ साउन २०८१ शुक्रवार । फ्रान्सको राजधानी पेरिसमा आज (शुक्रवार)देखि औपचारिक रुपमा शुरू हुने ३३औँ गृष्मकालीन ओलम्पिक शुरू हुँदैछ ।ओलम्पिकअन्तर्गत फूटबल, रग्बीलगायतका खेलका प्रतियोगिता भने गत बुधवार नै शुरू भइसकेका छन् । नेपाली समयअनुसार आज राति ओलम्पिकको औपचारिक उद्घाटन हुँदैछ ।

ओलम्पिकमा भाग लिन नेपाली खेल टोली पनि राजधानी पेरिस पुगिसकेको छ । नेपालले ओलम्पिकमा विभिन्न ६ खेलमा सात खेलाडीलाई सहभागी भएका छन्य । सपालि एक नेपाली खेलाडी छनोट प्रतियोगिता जितेर ओलम्पिकमा सहभागी हुन गएका छन् । टेबुल टेनिस खेलाडी स्याण्टु श्रेष्ठ दक्षिण एशियाको छनोट चरण पार गरेर ओलम्पिकमा सहभागी हुन सफल भएका छन् ।
अन्य खेलाडीलाई भने कोटा तथा वाइल्ड कार्डको आधारमा सहभागी गराइएको हो । नेपालका अन्य खेलाडीहरूमा जुडोमा मनिता श्रेष्ठ प्रधान, एथलेटिक्समा सन्तोषी श्रेष्ठ, स्विमिङमा डुवाना लामा र एलेक्जान्डर शाह, ब्याडमिन्टनमा प्रिन्स दाहाल, सुटिङमा सुस्मिता नेपाल छन् । नेपालले पहिलोपटक ओलम्पिकमा ब्याडमिण्टनमा भाग लिन लागेको हो ।
नेपालले ओलम्पिकमा भाग लिएको यो १५ औं पटक हो । आज राति ११ बजेर ४५ मिनेट जाँदा पेरिसमा आयोजना हुने भब्य उदघाटन समारोहमा नेपालको पनि सहभागिता रहनेछ । ओलम्पिकमा २०६ ओलम्पिक राष्ट्रिय टिमको सहभागिता रहनेछ । यसमध्ये एशियाका ४४ देशले भाग लिँदैछन् ।
ओलम्पिकमा शरणार्थी टीमको समेत सहभागिता रहनेछ । नेपालले सन् १९६४ देखि ओलम्पिकमा भाग लिन शुरू गरेको थियो । पेरिस ओलम्पिकमा विभिन्न ३२ वटा खेलका ३२९ वटा इभेन्टस् सञ्चालन हुँदैछन् । पेरिस यति वेला खेलमय भएको छ।
























