प्रहार समाचार। तनहुँ, जेठ २६ । तनहुँको व्यास नगरपालिका दमौलीको प्रसिद्ध धार्मिक तिर्थस्थल पञ्चमन्दिर क्षेत्रमा बृहत सरसफाई गरिएको छ । म्याग्दे दमाैली समाजको आयाेजनामा शनिवार उक्त क्षेत्रको आज शनिवार वृहत सरसफाई गरिएको हो।

ऐतिहासिक , धार्मिक महत्त्व बाेकेकाे पञ्चमन्दिर क्षेत्रलाई सफा र राम्रो बनाउने उद्धेश्यले कार्यक्रम आयाेजना गरिएको म्याग्दे दमाैली समाजका अध्यक्ष भाग्यशाली ढुंगानाले बताए ।
कार्यक्रममा पञ्चमन्दिर क्षेत्रमा रहेको सार्वजनिक साैचालय सरसफाई देखि मन्दिर वरिपरिका झाडी फाँड्ने , झारहरु उखेल्ने . यत्रतत्र छरिएर रहेका फाेहाेरमैला संकलन गरि व्यास नगरपालिकाको फोहर उठाउने ट्रकमा संकलन गरि उचित स्थानमा विसर्जन गरिएको अध्यक्ष ढुंगानाले जानकारी दिए ।

सरसफाइ कार्यक्रममा व्यास नगरपालिका वडा नं ३ का अध्यक्ष अनुप रानाले धार्मिक पर्यटकहरू आउने यस ठाउँमा हरेक दिन सफा हुनुपर्ने बताए । म्याग्दे समाजले आयाेजना गरेको सरसफाई कार्यक्रमलाई धन्यवाद दिँदै रानाले मानिसको साेच परिवर्तन नभएसम्म फाेहाेरमैला भइरहने बताए । कार्यक्रममा व्यास क्षेत्र शिव पञ्चायन मन्दिर संरक्षण समितिका अध्यक्ष प्रेमप्रकाश भट्टराईले अत्यन्तै महत्त्वपूर्ण ठाउँ भएर पनि यस क्षेत्र आकर्षक हुन नसकेको बताए ।

सरसफाई कार्यक्रममा व्यास नगरपालिकाका प्रथम मेयर ताराप्रसाद श्रेष्ठ , दमाैली खानेपानीका अध्यक्ष बुद्धिमान श्रेष्ठ लगायत जनप्रतिनिधिहरू , भूपू सैनिक क्लव , सुरक्षाकर्मी , छङ्गेलि नेवा खल , टाेलबिकास संस्था , आमा समुह , बिद्यार्थी , खेलाडी सहित विभिन्न संघसंस्थाका प्रतिनिधिहरूकाे उल्लेख्य उपस्थिति रहेको थियो ।


























