प्रहार समाचार । पोखरा, जेठ २५ ।पोखरामा शुक्रबारबाट गण्डकी प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ ।प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश फुटबल संघको व्यवस्थापनमा उक्त प्रतियोगिता सुरु भएको हो ।

पोखरा रंगशालामा भएको उद्घाटन खेलमा तनहुँले गोरखा विरुद्धको खेलमा ३–० गोल अन्तरले सहज जित निकालेको छ । तनहुँलाई अग्रता दिलाउने क्रममा पहिलो गोल शान्ता बहादुर गुरुङले खेलको २० औं मिनेटमा गोलको खाता खोलेका थिए ।
यस अघि प्रतियोगिताको उद्घाटन प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले गरेका थिए । गण्डकी प्रदेश फुटबल संघका वरिष्ठ उपाध्यक्ष मिलन गुरुङको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
यहि जेठ २८ गते सम्म सञ्चालन हुने प्रतियोगिता गण्डकी प्रदेशका १० जिल्लाको सहभागिता रहेको छ ।नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगिता अन्तर्गत शनिबार चार खेल सञ्चालन हुनेछन् । प्रतियोगिताबाट दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनौट हुनेछन् ।
























