प्रहार समाचार । पोखरा, जेठ ११ । उच्च अदालत पोखराले व्यास नगरपालिकाको मेयरको मतगणनामा सातवटा त्रुटीहरु औल्याएको छ । त्रुटीहरु यस प्रकार रहेका छन :

१. जोशीले मतगणना कार्य कानुन विपरीत भएको दाबी गरेका छन् । उक्त दाबीमा उच्च अदालतले उम्मेदवार नभएको कोठामा समेत मत सङ्केत परेको र त्यसको गणना गरेको भनेको छ । अनुसूचीको फारममा उम्मेदवार नै नरहेको निर्वाचन चिह्नमा परेको मतको समेत गणना गरिएको तर एकीकृत फारममा उक्त प्राप्त मत उल्लेख गरेको नदेखिएकाले ती मत के भएको हो भन्ने उल्लेख नगरेको भनेको छ ।
२. स्थानीय तह निर्वाचन (मतगणना) निर्देशिका बमोजिम प्रत्येक उम्मेदवारले प्राप्त गरेको मत अनुसूची–५६ बमोजिमको मतगणना फारममा चढाउनु पर्ने उल्लेख गरेको छ । अदालतमा पेस गरिएको फारममा धर्का तानेर उम्मेदवारले प्राप्त गरेको मतलाई अङ्कित गरिएको भए पनि बदर मत उल्लेख नगरेको भनेको छ ।
३. एकीकृत मतगणना फारममा बदर मत संख्या भनेर उल्लेख गरे पनि त्यसको पुष्टि हुन नसकेको अदालतले उल्लेख गरेको छ । बदर मत भनी उल्लेख गरेको सङ्ख्या र परिणाम प्रकाशन गर्दा बदर मत भनी उल्लेख गरेको सङ्ख्या एक आपसमा मेल नभएको अदालतले जनाएको छ । एकै वडाबाट नगर प्रमुखको पदको लागि खसेको मत बदर र पूर्ण बदर भएको तथ्याङ्क फरकफरक ठाउँमा फरकफरक उल्लेख भएकाले गणना रितपूर्वक नभएको आशङ्का अदालतको पूर्ण पाठमा गरिएको छ ।
४. मतगणना सम्बन्धी फारम र एकीकृत मतगणना फारमलाई एक अर्कासँग भिडाउँदा, व्यास नगरपालिका वडा १० को १००१ देखि ११०० सम्मको मतगणना फारममा जोशीले ३० मत प्राप्त गरेको देखिएको छ । उक्त मत एकीकृत फारममा समावेश नभएको र त्यो मत जोशीको कुल मतमा जोडेको नदेखिएको अदालतले भनेको छ ।
५. वडा नम्बर ४ को एकीकृत मतगणना फारममा ५०० मतपत्र गणना गर्दासम्मको भनी विभिन्न निर्वाचन चिह्नहरूमा जम्मा ४५३ मत उल्लेख भएको देखिन्छ । त्यस फारममा बदर मतको हरफमा कुनै अङ्क उल्लेख भएको छैन । गणना गरिएको ५०० मतमा नपुग मत ४७ के भएको भन्ने नखुलेको अदालतले जनाएको छ ।
वडा नम्बर १० को मतगणनामा जम्मा खसेको मत ३०४२ र उम्मेदवारहरूले २५६७ मत प्राप्त गरेको तथा ४७५ बदर मत भनी उल्लेख गरिएको छ । त्यस वडाको मतगणना फारममा गणना भइ जम्मा ११६ बदर मतलाई धर्का तानी गणना गरिएको देखिएको छ । बदर मत भनी उल्लेख भएको ४७५ मत पुष्टि हुन नसकेको अदालतले उल्लेख गरेको छ ।
६. स्थानीय तहको निर्वाचनमा एउटै मतपत्रमा नगरपालिकाका विभिन्न पदको निर्वाचनका लागि मत सङ्केत गर्ने व्यवस्था छ । पदका आधारमा मतगणना गर्दा कुनै पदको मत सदर हुने र कुनै पदको मत बदर हुन सक्ने व्यवस्था उल्लेख छ । तर व्यास नगरपालिकाको प्रमुख पदमा सम्पूर्ण वडाहरुबाट जम्मा ३० हजार १८३ मत खसेको देखिएकोमा मेयरका उम्मेदवारहरूले २५ हजार ५९५ मत प्राप्त गरेको र ४ हजार ५८८ मत बदर भएको उल्लेख छ । बदर मत मतगणना सम्बन्धी अनुसूची–५६ को फारममा उल्लेख भएको बदर मतसँग नमिलेको अदालतले जनाएको छ ।
यस्तै, उम्मेदवारले पाएको मत र बदर मतको संख्याले जम्मा खसेको मत भनी उल्लेख भएको ३० हजार १८३ मत पूरा भएको अवस्थामा पूर्ण बदर मत भनी ४ सय ४५ मत उल्लेख गरिएकाले सबै जोड्दा खसेकोभन्दा बढी मत आएको छ । त्यसैले मतगणनाको काम कानुन बमोजिम नभएको अदालतको ठहर छ ।
७. अदालतले व्यासको मतगणना प्रावधानको पालना नगरी भएको भनेको छ । मतगणना फारममा उल्लेख गर्नुपर्ने सम्पूर्ण व्यहोरालाई प्रस्ट रुपमा उल्लेख नगरेको, कति मत बदर र कति मत पूर्ण बदर भएका भन्ने हिसाब नराखेको, एकीकृत मतगणना फारम र सो फारममा समेत निवेदकले प्राप्त गरेको कुल मतसङ्ख्या जोड नगरेको भनेको छ । विभिन्न फेहरिस्त हेर्दै उच्च अदालतले मतगणना रितपूर्वक नभएको दाबी गरेको छ ।
























